गोरखा । गोरखा सदरमुकामस्थित बसपार्कमा एक विद्युतीय (ईभी) माइक्रो बस दुर्घटना हुँदा दुई सवारी साधन र सार्वजनिक संरचनामा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिजो वैशाख ३० गते राति अन्दाजी ८:१० बजेको समयमा बा.प्र ०१-००६ ख ७९०९ नम्बरको ईभी माइक्रो बस मोड्ने क्रममा बसपार्कको बीचमा रहेको वाटर फाउन्टेन (पानीको फोहोरा) मा ठोक्किएको थियो।
दुर्घटनाबाट माइक्रोको अगाडिको बम्पर र वाटर फाउन्टेनको बायाँ भागमा क्षति पुगेको छ। यस्तै, सोही ठाउँमा पार्क गरेर राखिएको ग १ ज ६९७४ नम्बरको ट्याक्सीको चालक बस्ने भागमा समेत सामान्य क्षति भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर उत्तरमा पर्दछ। दुर्घटनालगत्तै प्रहरी र ट्राफिकको टोलीले ईभी माइक्रोका चालक गोरखा-९ ठिमुरेश्वरा बस्ने २३ वर्षीय सुदिन पाण्डे र सहचालक काठमाडौँ शङ्खरापुर-९ साघुँ बस्ने २६ वर्षीय सन्दीप सिप भक्तिलाई नियन्त्रणमा लिएको छ।
चालकका कागजपत्र ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको र माइक्रो घटनास्थलमै रहेको छ।











प्रतिक्रिया