
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ कदमहामा बिहेघरमा कुटाकुट हुँदा पाँच जना घाइते भएका छन् । बेहुली लिन विराटनगरबाट कदमाह पुगेको जन्ती र बिहे घरमा भेला भएका स्थानीयबीच शुक्रबार राति कुटाकुट भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थानीय भजनलाल सहनीको छोरीको बिहेमा शुक्रबार राति ११ः३० बजेतिर डिजे बजाएर नाच्ने क्रममा बेहुली र बेहुला पक्षबीच कुटाकुट भएको थियो ।
झडपमा धनपालथान–६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएका छन् ।
घाइते हुनेहरू दुवै पक्षका छन् । घाइतेहरू उपचारपछि घर फर्किसकेका छन् ।
झडपका क्रममा आक्रोशित पक्षले बिहे घरका कुर्सी तोडफोड गर्दै मण्डप पनि भत्काइदिएका थियो ।
झडपका कारण बेहुली पक्षले हतारहतार बेहुली अन्माएर पठाएका थिए । राति करिब १ बजे बेलुकी लिएर विराटनगर फर्किएको जन्तीलाई प्रहरीले केही समय स्कटिङ गरेको थियो ।
साभारः अनलाइन खबर
प्रतिक्रिया