
काठमाडाैं । भारतको राजधानी दिल्लीको प्रहरीले पाकिस्तानी गुप्तचर संस्था आएएसआइको स्लिपर सेलको आरोपमा एक नेपाली नागरिकलाई पक्राउ गरेको समाचार एजेन्सीहरूले जनाएका छन् ।
२१ जना आइएसआइ एजेण्टहरु पक्राउ गर्ने क्रममा पछिल्लो पटक एकजना नेपाली नागरिक अन्सरुल मियाँ अन्सारीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
उनीविरुद्ध मे महिनामै अभियोगपत्र दायर भएको र हाल तिहाड जेलमा पठाइएको हिन्दुस्तान टाइम्समा उल्लेख छ । अन्सारी दिल्लीको एक होटलबाट पक्राउ परेको र उनी पाकिस्तान जाने क्रममा रहेको दाबी प्रहरीको छ ।
ती नेपाली नागरिक अन्सारीले आफू कतारमा क्याब चालकको रूपमा काम गरेको सोही सिलसिलामा आइएसआइसँग सम्पर्क भएको बयान दिएको दाबी भारतीय मिडियाको छ ।
त्यसपछि उनलाई कतारबाट पाकिस्तान लगिएको र उनलाई आइएसआइका उच्च अधिकारीले केही दिन तालिम दिएको समेत एएनआइले जनाएको छ । अन्सारीलाई त्यसपछि नेपाल हुँदै दिल्ली पठाइएको र गोप्य दस्ताबेजहरू सिडी बनाएर पाकिस्तान पठाउन भनिएको दाबी समेत गरिएको छ ।
यसबारेमा नेपाल प्रहरीले कुनै जानकारी पाएको छैन ।
प्रतिक्रिया