गोरखा। गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण बर्ष २०२५’ सफल बनाउन कार्यतालिका सार्वजनिक गरेको छ । नगरपालिकाले गोरखा भ्रमण बर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि बिभिन्न ३२ योजनासहितको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अन्र्तगत गोरखामा ऐतिहासिक, धार्मिक तथा खेल क्षेत्रको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि देशभरका सातवटै प्रदेशमा ‘जाउँ है गोरखा कार्यक्रम’ देखि लिएर प्रदेश स्तरीय खेलकुद प्रतियोगितासमेतको आयोजना गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।
‘‘गोरखालाई धार्मिक, ऐतिहासिक तथा खेल क्षेत्रसंग जोडेर यहाँको पर्यटनको विकासका लागि नगरपालिकाले नयाँनयाँ योजनाको थालनी गर्न लागेको हो, उनले भने, ‘‘अव पर्यटकलाई गोरखा घुम्न आउनका लागि प्रोत्साहित गर्छौ ।’’
गोरखा घुम्न आउने पर्यटकलाई लक्षित गरेर नगरपालिकाले नगरभित्रका ५६ वटा धार्मिक एवं पर्यटकीय स्थलको पहिचान गरेर ‘बुकलेट’ समेत तयार पारेको नगरप्रमुख रानामगरले जानकारी दिए । आँबुखैरेनी हुँदै गोरखा प्रवेश गर्ने पर्यटकका लागि पर्यटकीय स्थल पुग्ने बाटोको सूचना दिन क्यूआर कोडसहितको ‘स्टे«ट नम्बर’ राख्ने तयारी नगरपालिकाले गरेको छ ।
‘‘क्यूआर स्क्यान गरेपछि पर्यटकले सम्बन्धित पर्यटकीय स्थल र त्यसको महत्वका बारेमा थाहा सजिलै पाउन सक्छन्, उनले भने, ‘‘आउदो माघ महिना भित्रमा यो काम सम्पन्न गर्ने नगरपालिकाको कार्य योजना छ ।’’ त्यस्तै पर्यटकलाई जिल्ला पर्यटकीय स्थलको जानकारी दिने सदरमुकामस्थित बसपार्क नजिकै रहेको बहुउद्देस्सीय भवनमा नगरपालिकाले सूचना केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।
नगरपालिकाले धार्मिक पर्यटक भित्र्याउनका लागि गोरखामा विश्वनाथ योगीहरुको सम्मेलन गर्ने, गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्ने, रोट महोत्सव तथा शान्ति पदयात्रा कार्यक्रम गर्ने, काठमाडौँ, पोखरा, लुम्बिनी, बन्दीपुर सौराहलगायतका स्थानमा पर्यटन सञ्जाल गठन गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।
‘‘गोरखा आउने पर्यटक सहजीकरण मद्दत पु¥याउनका लागि विविध पर्यटन प्रवद्र्धनसम्बन्धी तालिम सञ्चालन गरिनेछ, नगरप्रमुख रानामगरले भने ‘‘त्यसवाहेक सामाजिक सञ्जालमार्फत पनि गोरखाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनसंग सम्बन्धित प्रतियोगिता आगामी फागनुमा गर्ने योजना बनाइएको छ ।’’
नगरपालिकाले गोरखा भ्रमण बर्ष सफल बनाउनका लागि होटल व्यवसायी संघको आयोजनामा पर्यटन व्यवसायीको भेला, नगरपालिकामा गण्डकी प्रदेश स्तरीय न्यायिक भेला २०८१, पर्यटन सम्बन्धी छलफललगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।
भिडियाे समाचार
प्रतिक्रिया