गोरखा । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार गोरखा जिल्लामा मङ्सिर २८ गते हुन लागेको निर्वाचनका लागि आज मनोनयन स्थागित भएको बिरोधमा प्रेस सेन्टर नेपाल गोरखाले कडा आपत्ती जनाएको छ । केन्द्रीय निर्वाचन तालिका अनुसार आज जिल्ला शाखामा मनोनयन दर्ता प्रक्रिया सुरु गर्नुपर्नेमा उल्टै कार्यसमितिको बैठक नै नवसी अध्यक्ष र सचिवले आफुखुशी निर्वाचनका सवै प्रक्रिया स्थगनको घोषणा गरिएको सूचना सामाजिक सञ्जालबाट प्राप्त हुनुले संगठनलाई स्तव्ध बनाएको बिज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।
प्रेस सेन्टर नेपाल गोरखा शाखाका अध्यक्ष दानबहादुर गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार महासंघ गोरखालाई साझा सँगठनको रुपमा विकास गर्नुको साटो बर्तमान मूल नेतृत्वले आफ्ना आसोपासेलाई भर्ति गर्ने र महासंघलाई मागि खाने सँस्थाको रुपमा प्रयोग गर्ने केन्द्र बनाएको थप पुष्टि गरेको उल्लेख गरिएको छ । बिज्ञप्तिमा नेपालको लोकतान्त्रिक इतिहास बोकेको श्रमजीवि पत्रकारको साझा संस्था पत्रकार महासंघ गोरखा शाखाको गरिमामा आँच आउने गरी वर्तमान नेतृत्वले आफुखुशी निर्वाचन प्रक्रिया स्थगन गर्नुले महासंघ गोरखा शाखाको वर्तमान मूल नेतृत्व पुरै असफल र स्खलीत भएको ठहर गरिएको छ ।
‘‘महासँघ गोरखा शाखा पूर्ण रुपमा विघटन भएको छ, अध्यक्ष गुरुङद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, ‘‘अव यहि नेतृत्वबाट पुनः निर्वाचन गराउने कुरामा हाम्रो सँगठनले स्वीकार गर्न सक्दैन ।’’ महासँघ केन्द्रको नियम र विधिलाई अस्वीकार गर्ने व्यक्तिहरुको सदस्यता खारेज गरी गोरखामा केन्द्रबाट नै निर्वाचन प्रक्रिया अघि बढाउन पहल गर्न समेत बिज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
साझा चरित्रको महासँघ निर्माण गर्न हाम्रो सँगठन नेपाल प्रेस सेन्टर गोरखा शाखा सदैव तयार रहेको उल्लेख गर्दै बिज्ञप्तिमा गोरखामा पत्रकारीता गर्नेहरु गोरखा सदरमुकाम आसपास मात्रै हिडेँको पात्र हुनुपर्दछ भन्ने रुढीवादी र अत्यन्त निकृष्ट आसय प्रति हाम्रो सँगठनको गम्भीर आपत्ती रहेको जनाइएको छ । सबै वर्ग समुदाय, भूगोलमा रहेका समुदायबाट पत्रकारिता क्षेत्रमा आएका युवा जनशक्ति गोरखाली नागरिकहरुको बौद्धिक सम्पती भएको प्रेस सँगठनको ठहर छ ।
आफ्ना अघिपछि हिड्ने, नजिकका चिनेजानेका मान्छेहरुलाई सदस्यता वितरण गर्दै सँधै जसरी पनि जस्तोसुकै हतकण्डा प्रयोग गरेर नेतृत्वमा रहिरहनुपर्ने प्रवृतिको अन्त्य गर्न हाम्रो सँगठन कटिबद्ध रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । प्रेस सेन्टर नेपाल मँसिर २८ गते हुने नेपाल पत्रकार महासँघको निर्वाचन गराउन निर्वाचन कमिटि बनाएर प्रक्रिया अघि बढाइदिन नेपाल पत्रकार महासँघ केन्द्र र नेपाल पत्रकार महासँघ प्रदेशसँग जोडदार माग समेत गरेको छ ।
प्रतिक्रिया