गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको निर्वाचन स्थगित भएको छ । शाखाले बुधबार एक बिज्ञप्ती जारी गर्दै सदस्यता विवादका कारण मंसिर २८ गते हुने चुनाव स्थगित भएको जनाएको हो ।
अध्यक्ष नरहरी सापकोटा र सचिव बिकास मरहट्टाद्वारा जारी बिज्ञप्तीमा सदस्यता सुद्विकरण बिषयमा जिल्ला शाखाले गरेको निर्णय कार्यान्वयन नभएकाले निर्वाचन गराउन नसकिएको उल्लेख गरिएको छ ।
जारी बिज्ञप्तीमा ‘जिल्लामा प्राप्त मतदाता नामावलीको सम्वन्धमा जिल्ला शाखाले गरेको सिफारिस विपरित रहेको र केन्द्रसंग असहमतिसहित संशोधनका लागि औपचारिक रुपमा पटक पटक आग्रह गर्दा पनि आजको मितिसम्म केन्द्रले वेवास्ता गरेको कारण निर्वाचन प्रकृया नै अन्यौलमा पुगेको’ भनिएको छ ।
देशैभर हुने निर्वाचन कार्यक्रम तालिका अनुसार आजको दिन देशैभरको ७७ जिल्लामा जिल्ला शाखाको समितिको लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको थियो । शाखाले चुनाव स्थगित गरेसंगै चुनावको मिति अन्यौल भएको छ ।
यता चुनावी प्रकृयाको थालनी हुने आशामा १ दर्जनभन्दा बढी महासंघमा आवद्व सदस्यहरु महासंघको शाखा कार्यालय रहेको भवनमा पुगेका थिए । दिउसो ३ बजेसम्म पनि चुनावी प्रकृयाको थालनी नगरेपछी उनीहरु सबै फर्किएका थिए ।
प्रतिक्रिया