गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा । गोरखा नगरपालिका वडा नं ५ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बिष्णुबहादुर रानामगर विजयी भएका छन्। आइतबार सम्पन्न भएको उपनिर्वाचनमा रानामगर ४ सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका भाइकाजी आलेले ४ सय २ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए। त्यस्तै नेकपा एमालेकी उमेद्वार दुर्गामाया राना थापाले ३ सय ४५ मत प्राप्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कल्पना रानाले १२ मत, नेपाल समाजवादी पार्टीका रुपेश मग्रातीले १०, मंगोल नेशनल अर्गनाइजेसनकी भवानी थापा मगरले ९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रुप सिं रानाले ५ र नेशनल रिपब्लिक नेपालकी सविना तामाङले ४ मत ल्याएकी छन् ।

कुल २ हजार २ सय २५ मतदाता रहेको उक्त वडामा १ हजार ३ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको निर्वाचित अधिकृत रानभाटले बताए। उपनिर्वाचनमा बिभिन्न ९ राजनीतिक दलका ९ जना उमेद्वार प्रतिस्पर्धामा रहेका थिए ।

गत २०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका नेकपा एमाले खिलबहादुर रानामगरको निधन भएपछि यस वडामा रिक्त रहेको पदमा आइतबार उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

TOP