रौतहट । एक महिलाले वडाध्यक्षमाथि यौन शोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।
मौलापुर ९ का वडाध्यक्ष श्याम किशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो ।
स्थानीय एक महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएपछि मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्सीय छानबिन समिति गठन गरिएको छ ।
घटनाबारे सत्य तथ्य छानबिन गरी समितिले १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेश गर्न भनिएको छ ।
समितिले घटनाको प्रतिवेदन पेश गरेपछि कस्तो किसिमको कारबाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह अधिकृत छैटौँ सदस्य रहेका छन् ।
वडाध्यक्षकै गाउँकी एक महिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौन शोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मौलापुरले छानबिन समिति गठन गरेको छ ।
प्रतिक्रिया