गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, भण्डारी गाउँकी एक महिलाको गाडिएको शव प्रहरीले बरामद् गरेको छ । साउन ४ गतेराती आत्माहत्या गरेको भनिएकी ४५ बर्षीय रनमाया गुरुङ्गको शव अनुसन्धानका लागि उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
‘‘मृतकका श्रीमान ४६ बर्षीय मारज गुरुङ्गले श्रीमतीले आत्माहत्या गरेको भनि स्थानीयलाई भेला गराएर स्थानीयबासीले समेत आत्महत्या नै भनि निस्कर्ष निकालेपछि ५गते शवको जातीय परम्परा अनुसार जमीनमा गाडेर अन्त्येष्टी गरिएको रहेछ, उनले भने ‘‘घटना शंकास्पद लागेर अनुसन्धानका लागि शव उत्खनन् गरी अनुसन्धान थालिएको हो ।’’
मृतकका दाजु सुकपाल गुरुङ्गले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि सौरपानी प्रहरी चौकीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय जौवारी र गोरखा अस्पताल गोरखाबाट गएको विशेषज्ञ चिकित्सकसहितको टोलीले शवको उत्खनन् गरी बरामद् गरेको उनले बताए ।
मृतक रनमायाले झुण्डि आत्माहत्या गरेको भनिएको स्थान र शवको अन्त्येष्टी गरिएको स्थान दुवै ठाउँको प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग काठमाण्डौमा पठाइएको डिएसपी श्रेष्ठले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया