अजिरकोटले उत्पादन बृद्धि गर्न ‘एक वडा, एक व्यावसायिक कृषि उत्पादन’ कार्यक्रममा जोड दिने

अजिरकोटले उत्पादन बृद्धि गर्न ‘एक वडा, एक व्यावसायिक कृषि उत्पादन’ कार्यक्रममा जोड दिने

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले ‘एक वडा, एक व्यावसायिक कृषि उत्पादन’ कार्यक्रमलाई प्राथामिकताका साथ अघि बढाउने भएको छ । कृषि उत्पादन बृद्धि गर्दै गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने उद्देस्यसहित आगामी आर्थिक बर्ष २०८०÷०८१ मा ‘एक वडा, एक व्यवसायिक कृषि उत्पादन’ को कार्यक्रमलाई विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी द्एि ।

पालिका भित्र रहेका खेतीयोग्य बाँझो जग्गाको सदुपयोग गर्दै किसान एवं कृषक समुहलाई व्यावसायिक कृषिखेतीमा जोडदिने गरी पालिकाले कार्यक्रम बनाएको उनको भनाई छ । ‘‘धेरै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन्, गाउँबाट मानिसहरु विस्थापित हुनेक्रम पनि बढ्दो छ, अध्यक्ष देवकोटाले भने, ‘‘गाउँमै व्यावसायिक कृषि पेशाबाट आर्थिक आयआर्जन गर्नसक्ने गरी कृषकलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको हो ।’’

एक कृषक समुहले कम्तिमा एउटा व्यावसायिक कृषि उत्पादन गर्नसके त्यसवाट उत्पादनमा समेत बृद्धि गर्न सकिने उनको भनाई छ । उत्पादनमा लगानी एवं उत्पादनको मात्रा अभिबृद्धि, बजारीकरणलगायतका आधारमा गाउँपालिकाले कृषक समुहलाई अनुदानका साथै क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नेछ ।

त्यस्तै पालिका भित्रका कृषि उत्पादनलाई बजारीकरण गर्न कृषि उत्पादनको संकलन केन्द्र स्थापना, ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा समेत गाउँपालिकाले जोड दिएको छ । उत्पादित बस्तुको बजार मूल्य निर्धारण, बजारीकरण तथा स्थानीय तहले तोकेको बिशिष्टकृत कृषि तथा पशु उपजको न्युनतम मूल्य निर्धारणमा देखिएका समस्याको समाधान गर्ने अध्यक्ष देवकोटाको भनाई छ ।

नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले माटो परीक्षणका आधारमा माटो र भूगोल सुहाउदो बाली लगाउन कृषकलाई प्रोत्साहन गर्ने तथा भूगोल सुहाउदो कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने गरी कार्यक्रम तय गरेको छ । आगामी आर्थिक बर्षदेखि गाउँपालिकाले कम्तिमा ६० प्रतिसत अनुदान उत्पादनका आधारमा वितरण गर्ने नीति लिएको छ ।

प्रतिक्रिया

TOP