गोरखामा प्रदुषणबाट जोगिन ट्राफिक प्रहरीलाई जलनेती तथा नस्यकर्म तालिम

गोरखामा प्रदुषणबाट जोगिन ट्राफिक प्रहरीलाई जलनेती तथा नस्यकर्म तालिम

गोरखा । गोरखा जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई प्रदुषणजन्य रोगबाट सुरक्षित रहन जलनेती तथा नस्यकर्म सम्बन्धी योगाभ्यास तथा प्रयोगका बारेमा तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको आयोजनामा धुलो, धुवाँ र प्रदुषणजन्य समस्याबाट सुरक्षित रहने सिकाउने उद्देस्य सहित एकदिन तालिम प्रदान गरिएको केन्द्रका सूचना अधिकारी एवम् बरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माले जानकारी दिए ।

‘‘चौविसै घण्टामा सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीमा स्वासप्रश्वास सम्बन्धी समस्याको जोखिम बढी हुने भएकाले आयुर्वेद र आयुर्वेद कर्मका माध्यमबाट पनि त्यसलाई न्युनीकरण गर्न सकिन्छ, उनले भने, ‘‘त्यसका लागि जलनेति तथा नस्यकर्म सम्बन्धी योगाभ्यास र प्रयोग अत्यन्त लाभदायी हुन्छ ।’’ निरीक्षक शर्माले सडकमा उभिएर ड्युटीमा खटिने ट्राफिक प्रहरीहरुमा स्वासप्रश्वास सम्बन्धी समस्या र प्रदुषणजन्य समस्याबाट सुरक्षित रहनका लागि जलनेति तथा नस्यकर्म सिकाइएको बताए ।

‘‘तलिममा सहभागीहरुलाई जलनेती, नस्यकर्म, योग तथा आयुर्वेद मार्फत कसरी सुरक्षित रहन सकिन्छ भन्ने सैदान्तिक ज्ञानसंगै अभ्यास समेत गराएको छ, प्रमुख प्रशिक्षक समेत रहनु भएका निरीक्षक शर्माले भने ‘‘सिकेका कुरा अब दैनिकरुपमा व्यवहारमा लागू गर्नसके उहाँहरुलाई स्वासप्रवास र प्रदुषणजन्य समस्याबाट जोगिन धेरै सजिलो हुन्छ ।’’

जलनेति तथा नस्यकर्म सम्बन्धी अभ्यास टाउ दुख्ने र नाकसम्बन्धी समस्यालाई समाधानका लागि गर्ने गरिन्छ । ‘‘नाक, कान, आँखा, घाँटीसंग सम्बन्धित रोगहरुबाट बच्नका लागि यो अत्यन्तै प्रभावकारी छ, उनले भने, ‘‘त्यसवाहेक आँखाको दृष्टि बढाउन, बिभिन्न प्रकारका टाउको दुखाइमा, रुघाखोकी, कहिलेकाँही कान नसुन्ने समस्या भएमा निराकरणमा पनि यसले फाइदा पु¥याउने भएकाले यसलाई महत्वपूर्ण मानिन्छ ।’’

सवैका लागि यी कर्म उत्तिकै फाइदाजनक हुने भएपनि विशेषगरी ट्राफिक प्रहरी यस्ता समस्याको जोखिममा हुने भएकाले ट्राफिक प्रहरीका लागि प्राथामिकता दिएर शनिबार तालिम सञ्चालन गरिएको हो । ‘‘ट्राफिक प्रहरीलाई धुलो, धुवाँ गाडीको वरपर रहेर दिनभरी काम गर्नुपर्ने बाध्यता हुन्छ, उनले भने, यी आयुर्वेदसम्बन्धी कर्म दैनिक रुपमा गर्ने हो भने धेरै प्रकारका रोगहरुबाट उहाँहरु सुरक्षीत रहन सक्नुहुन्छ ।’’

प्रतिक्रिया

TOP