बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–८ बुङ्कोटमा सञ्चालित बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष वासुदेव ढकालले जानकारी दिए ।

भवन निर्माणका लागि कुल रु ५१ लाख ७८ हजार ८४८ रुपैया खर्च भएको उहाँले बताउनुभयो । ‘‘ठेकेदारसंग ठेक्का सम्झौता गर्दा रु ५३ लाख १३ हजार ८०८ रुपैया ठेक्का सम्झौता भएको थियो, वडाध्यक्ष ढकालले भने, ‘‘ तर निर्माण सम्पन्न हुँदा ५१ लाख ७८ हजार ८४८ रुपैया भुक्तानी गरिएको छ ।’’

स्वास्थ्य केन्द्रको भवन नहुँदा यसअघि महिला लक्षित कार्यक्रम सञ्चालनका लागि एक गैह्रसरकारी संस्थाले बनाइदिएको महिला सामुदायिक भवनबाट केन्द्रले स्वास्थ्य उपचार सेवा दिदै आएको थियो । ‘‘सामुदायिक भवनमा साधुरो ठाउँ भएकाले पनि सेवा दिन निक्कै समस्या भएको थियो, उनले भने, ‘‘अव आफ्नै जग्गामा भवन निर्माण भएपछि सजिलो भएको छ ।’’

गएको असारमा भवन निर्माण सम्पन्न गर्नुपर्ने गरी गाउँपालिकाले श्री कल्याण निर्माण सेवासंग ठेक्का सम्झौता गरेको भएपनि ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो । पालिकाले भवन निर्माणका लागि २०७९ माघ ११ गते कम्पनीसंग ठेक्का सम्झौता गरेको थियो ।

‘‘सम्झौता अनुसार काम भइदिएको भए २०८० असार २० गतेसम्ममा निर्माण सम्पन्न हुनुपर्थ्यो, उनले भने, ‘‘समयमा काम गर्न नसकेपछि पहिलोपटक म्यादथप गरिएको अवधीमा कम्पनीले भवन निर्माणको काम सम्पन्न गरेको हो ।’’ स्वास्थ्य केन्द्रको भवन निर्माण लागि स्थानीयबासी नरमाया अम्गाई, रामकाजी थापा, मिस्टर थापा, कमलादेवी थापा, चन्द्रकुमारी श्रेष्ठ र डल्लीमाँया श्रेष्ठले निशुल्क जग्गादान गरेका थिए ।

जग्गादाताले उपल्ब्ध गराएको जग्गामा केन्द्रको एक तल्ले पक्की भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न सघीय सरकारबाट २६ लाख रुपैया पाउनुपर्ने भएपनि २२ लाख रुपैया मात्र प्राप्त भएको बाँकी २९ लाख रुपैया गाउँपालिकाले भुक्तानी गरेको अध्यक्ष ढकालले जानकारी दिए। वडा कार्यालयको भवन नजिकै निर्माण भएको स्वास्थ्य केन्द्रबाट अहिले तीनजना स्वास्थ्यकर्मी सहित ४ जनाले सेवा दिदै आएका छन् ।

प्रतिक्रिया

TOP