
काठमाडौं । गोरखाका दुई युवक मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य बस्तु ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ बर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५ बर्षीय अर्जुन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दानीले गोरखामा केही समय पत्रकारिता क्षेत्रमा काम समेत गरेका थिए । उनीहरुसँगै कपिलवस्तुका २७ बर्षीय इमान सिं सुनारलाई पनि पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार गत फागुन ३० गते मुगा माला र टल्कने पत्थर किन्न भन्दै उनीहरु नुवाकोटको बिदुर नगरपालिका–७ महादेवखर्कस्थित चन्द्रबहादुर तामाङको घरमा पुगेका थिए । घरमा पुगेर सामान हेरेर ३५ लाखमा लेनदेन गर्ने पक्का पक्की भए लगत्तै पैसा नदिई सामान लिएर भागेको भन्ने उजुरीका परेपछी पक्राउ गरीएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
तामाङले आफ्नो सामान चोरी भएको नुवाकोट प्रहरीमा खवर गरेपछि प्रहरीले उनीहरुको खोजी कार्य तिव्र पारेको थियो । फोन ट्रयाकको आधारमा काठमाडौंको वालुवाटारस्थित उनीहरुकै कोठाबाट तीनै जनालाई पक्राउ गरिएको प्रनाउ खड्काले बताए ।
‘ठगी भएको खवर आएपछि हाम्रै योजनामा तामाङलाई अरु पत्थर पनि छ भन्दै उनीहरुलाई लिन आउनु भनेर बोलाउन लगायौ । त्यही क्रममा हामीले उनीहरुको फोन ट्रयाक गर्दै लोकेसन पत्ता लगायौ,’ उनले भने ।
ठगी गरेको सामान सहित उनीहरुलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए । उनीहरुको साथबाट ठगी गरेको मुगा माला चार थान, सि माला दुई थान, आर माला र टल्कने पत्थर नौ थान समेत बरामद भएको उनले जानकारी दिए । उनीहरु बिरुद्ध ठगी मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रतिक्रिया