गोरखा। गोरखाको अजिरकोट गाउँपालिका, गण्डकी गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । अजिरकोट गाउँपालिकाको आइतवार बसेको गाउँकार्यपालिकाको ११२ औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
बैठकपछि एक सूचना जारी गरी गाउँपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ । विदाका दिन गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द रहने जारी सूचनामा उल्लेख छ । त्यस्तै गण्डकी गाउँपालिकाले पनि आज एक सार्वजनिक सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) द्धारा हस्ताक्षरीत सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको सम्मान र स्मरणका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । सार्वजनिक विदाका दिन गाउँपालिका कार्यालय र गाउँपालिका मातहतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाले आफ्नो बार्षिक क्यालेन्डरमा नै जनयुद्ध दिवसका दिन सार्वजनिक विदा उल्लेख गरेकाले फागुन १ गते जनयुद्ध दिवसका दिन पालिका भित्र सार्वजनिक विदा भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए। संघ सरकारले जनयुद्ध दिवसका दिन दिएको विदा फिर्ता लिएको भएपनि भीमसेन थापा गाउँपालिकाले विदा फिर्ता नलिएको उनले बताए ।
प्रतिक्रिया