मानवसेवा आश्रम भवननिर्माण सहयोगार्थ महायज्ञः पहिलो दिनमै झण्डै २ लाख संकलन, ८ कोठा भवन निर्माण गर्ने प्रतिवद्धता
काठमाडौं । दाङमा मानवसेवा आश्रम भवन निर्माण सहयोगार्थ आयोजना गरिएको महायज्ञको पहिलो दिनमै उदारमनहरुबाट नगदतर्फ १ लाख ९३ हजार ३ सय ६५ रुपैँया प्राप्त भएको छ भने निर्माणाधीन भवनको लागि ८ कोठा निर्माण गर्ने प्रतिवद्धता व्यक्त भएको छ । मानव स्मारक १ कोठा निर्माणको लागि ५ लाख ११ हजार १ सय ११ रुपैँया योगदान गर्नुपर्नेछ । यस्तै, लायन्स क्लब अफ ईन्टरनेशनलले १ करोड ३२ लाख ९९ हजार २ सय ८० रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको महायज्ञमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मानीवय सेवा गर्ने अवसर प्राप्त भएको बताउदै पालिकाको तर्फबाट ५ कोठा भवन निर्माणका लागि करिव २६ लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे। तुलसीपुरमा मानव सेवा आश्रम निर्माण गर्नु नै गौरबको योजना रहेको भन्दै हरेक क्षेत्र, समुदायले सक्दो सहयोग गर्न उनले आग्रह गरे।
यस्तै,लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले भवन निर्माणमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने बताए। महायज्ञले हरेक व्यक्तिमा मानवता फर्काउने उनको विश्वास छ ।
यस्तै, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले समेत सभालाई सम्बोधन गर्दै मानव सेवा आश्रमको एउटा कोठा भवन निर्माणको सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । यता, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले एउटा कोठामा लाग्ने ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दाङवासीको उत्साहजनक उपस्थितीका बिच शुरु भएको महायज्ञमा ४ हजार बराबरको जिन्सी सामान समेत प्राप्त भएको छ ।
प्रतिक्रिया