शहिदलखन गाउँपालिका संस्थागत स्वमूल्याङ्कनमा जिल्लाकै सर्वोत्कृष्ट,वारपाक सुलिकोट दोस्रो,भीमसेनथापा तेस्रो (भिडियाे)
गोरखा । गोरखा जिल्लाका स्थानीय तहहरु मध्ये शहिद लखन गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सर्वोत्कष्ट पालिका बनेको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७९/ ०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा औसत ८७ प्रतिसत अङ्क ल्याएर शहिद लखन जिल्लामै सर्वोत्कृष्ट बनेको हो ।
स्वमूल्याङ्कन कार्यविधिमा समावेश गरिएका बिभिन्न १० सूचक र १०० उपसूचकका आधारमा संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ । निर्धारित सूचकहरु मध्ये शहिद लखनले शासकीय प्रवन्ध, संगठन तथा प्रशासन र न्यायिक कार्यसम्पादनमा सतप्रतिसत अङ्क प्राप्त गरेको छ भने सवैभन्दा कम बार्षिक बजेट तथा योजना व्यवस्थापनमा ७२.७३ प्रतिसत अङ्क पाएको छ ।
स्वमूल्याङ्कनमा बारपाक सुलिकोट गाउँपालिका जिल्लाभरका पालिकाहरु मध्ये दोस्रो भएको छ । बारपाक सुलिकोट गाउँपालिकाले औसत ८६ प्रतिसत अङ्क ल्याएर दोस्रो उत्कष्ट पालिका भएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए। तोकिएका सूचकहरु मध्ये बारपाक सुलिकोटले वातावरण संरक्षण तथा व्यवस्थापन शिर्षकको सूचकमा मात्र थोरै ९५.५६ प्रतिसत अङ्क प्राप्त गरेको छ ।
भीमसेन थापा गाउँपालिका औसत ८४.५ प्रतिसत अङ्क ल्याएर संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लामा तेस्रो उत्कृष्ट पालिका बनेको छ । भीमसेन थापाले सूचकहरुमध्ये सामाजिक समावेशीकरणमा सतप्रतिसत अङ्क ल्याएको छ भने सवैभन्दा कम वित्तिय एवंम आर्थिक व्यवस्थापनमा ७५ प्रतिसत अंङ्क प्राप्त गरेको छ ।
भिडियाे हेर्नुहाेस्ः
त्यस्तै पालुङटार नगरपालिकाले औसत ७९.२५ प्रतिसत अङ्क प्राप्त गर्दै चौथो भएको छ भने धार्चे गाउँपालिकाले औसत ७५.७५ प्रतिसत अङ्क ल्याएर जिल्लामा पाँचौ उत्कृष्ट पालिका बनेको छ । त्यसैगरी आरुघाट गाउँपालिका औसत ७२ प्रतिसत अङ्क प्राप्त गर्दै छैटौ, अजिरकोट गाउँपालिका औसत ६७.२५ प्रतिसतका अङ्क ल्याएर जिल्लाको सातौ उत्कृष्ट पालिका बनेको छ । सिरानचोक गाउँपालिका औसत ६६ प्रतिसत अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा अन्तिमबाट तेस्रो भएको छ ।
गोेरखा नगरपालिका गोरखा ५० प्रतिसत अङ्कका साथ अन्तिम दोस्रो बनेको छ । जिल्लाका चुमनुब्री गाउँपालिका चुमनुब्री गाउँपालिकाले ४८.२५ अन्तिम स्थानमा रहेको छ । गण्डकी गाउँपालकाको भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नजिता सार्वजनिक भएको छैन ।
नजिता सार्वजनिक भएकामध्ये धेरैजसो स्थानीय तहहरुले भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा व्यवस्थापन, सहकार्य र समन्वयको सूचकमा अन्य सूचकको तुलनमा कम अङक प्राप्त गरेका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय गरी १० सूचक निर्धारण गरिएको हुन्छ ।
कार्यविधि अनुसार स्वमूल्याङ्कनमा पालिकाहरुको सवल पक्ष र दुर्बल पक्षहरुको समिक्षा गरिन्छ । स्थानीय तहहरुले स्वमूल्याङ्कन कार्य प्रत्येक आर्थिक बर्षको पौष मसान्त भित्र गरी सक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।
प्रतिक्रिया