गोरखा । भिमसेनथापा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मंसिर २८ गते बिहिबार देखि शुरु हुदैछ । भिमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा हुने रनिङशिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको वडा अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका बिच उद्घाटन गर्ने उनले बताए । प्रतियोगिता मंसिर २८, २९ र ३० गते सम्म चल्नेछ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार प्रतियोगितामा हुने खेलकुदका लागि आवश्यक पर्ने खेलमैदान समेत तयार भइसकेको छ । भलिबल, कबड्डी प्रतियोगिता विद्यालयकै प्राङ्गणमा रहेको खेल मैदानमा र एथलेटिक्स लगायतका अन्य खेल भने कमलपोखरी खेलमैदानमा सञ्चालन गरिने उनले बताए ।
प्रतियोगितामा पालिका भित्रका १२ माध्यमिक बिद्यालयका करिब ४५० विद्यार्थी सहभागी हुने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजाराम इटनीले जानकारी दिए । प्रतियोगितामा धेरै सहभागि हुने विद्यालयबाट ४६ जना र थौरै सहभागि हुने विद्यालयबाट कम्तिमा २२ जना सम्म प्रतियोगि विद्यार्थीहरुको सहभागिता रहने उनले बताए ।
त्यस्तै प्रतियोगिता अवधीमा खेलाडी लगायतका अन्य सहभागीको स्वास्थ्यमा समस्या देखिए, चोटपटक लागेमा आकस्मिक प्राथामिक उपचारका लागि दैनिक ४ जना स्वास्थ्यकर्मीहरू परिचालन गरिने बोर्लाङ्ग स्वास्थ्य चौकी प्रमुख सचिना शाक्यले जानाकारी दिए ।
प्रतियोगितामा विभिन्न १५ खेलमा प्रतियोगिहरु बिच प्रतिष्पर्धा हुनेछ । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस अघि श्री सरस्वती माध्यमिक विद्यालय बोर्लाङ्गले दुईपटक राष्ट्रपति रनिङशिल्डको उपाधि जितेको बिद्यालयले जनाएको छ ।
प्रतिक्रिया