उत्तरी गोरखामा हिमपात सुरु (फोटो फिचर)

उत्तरी गोरखामा हिमपात सुरु (फोटो फिचर)

गोरखा । उत्तरी गोरखाको हिमाली क्षेत्रमा हिमपात पर्न सुरु भएको छ । जिल्लाको चुम र नुब्री भ्यालीमा भ्याली आज विहानैदेखि हिमपात पर्न थालेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँ क्षेत्रम हिउँ परिरहेको साम्दोका होटल ब्यवसायी निमा दोर्जे लामाले बताए । ‘आज बिहानैदेखि ल्हो भन्दामाथी हिउँ परिरहेको छ , उनले भने ‘ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकोले चिसो अत्याधिक बढेको छ ।’

हिउपात पर्न सुरु भएसंगै उत्तरी गोरखामा बसोबास गर्ने सर्वसाधारणको दैनिक जनजीवन कष्टकर हुन थालेको लामाले जानकारी दिए । हिउपातका कारण गाईबस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाई हुन थालेको उनले बताए ।

अत्याधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समस्या हुन थालेको छ । चिसोले बृद्धबृद्धा र बालबच्चालाई बढी समस्या हुने गरेको लामाको भनाई छ ।

उत्तरी गोरखा पश्चिम तर्फको अन्तिम गाउँ साम्दो समुन्द्री सतहबाट ३ हजार ५५० मिटर उचाईमा पर्दछ । उच्च हिमाली क्षेत्र भएका कारण यहाँ अन्य क्षेत्रमा भन्दा बढी हिमपात हुने गर्दछ । हिउँ पर्न थाले संगै साम्दोको सञ्चार सम्पर्क भने बिच्छेद भएको छ ।

त्यस्तैगरी, चुम भ्याली तर्फको अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानिय छाङ दोर्जे लामाले जानकारी दिए ।

त्यस क्षेत्रमा पनि पानीका मुहान जम्न थालेसंगै खानेपानीको समस्या हुने उनले बताए । घरपालुवा पशुबस्तुलाई चरन क्षेत्रमा लान समस्या भएको लामाले बताए । निले गाउँ समुन्द्री सहतबाट ३ हजार ३०० मिटर अग्लो स्थानमा पर्दछ ।

हिमपात पर्न सुरु भएसंगै मनास्लु पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई समेत समस्या भएको छ । उनीहरु अहिले होटलमा नै आश्रय लिएर बसिरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना ९एमक्याप० को कार्यालयले जनाएको छ ।

हिमपात भएसंगै चुम भ्यालीमा पनि चिसोका कारण सामान्य जनजिवन बिस्तारै कष्टकर हुन थालेको छ । चुम भ्यालीको चुम्चेत र छेकम्पारमा पनि बिहानैदेखी हिमपात हुन थालेकाले चिसो बढेको गाउँपालिका अध्यक्ष लामाले बताए ।

हिमपात सुरु भएपछि स्थानीय किसानहरु भने खुशी भएका छन् । हिउँका कारण सुख्खा भएको जमिनलाई पानी मिल्ने र उब्जनी राम्रो भएकाले किसानहरु खुशी भएका हुन् । लामो समयसम्म पानी नपर्दा जमिन सुख्खा हुने भएका कारण हिउँ पर्दा खेतीबालीलाई राम्रो हुने विश्वास गरिन्छ । साथै अहिले परेको हिउँले यार्सागुम्बा (किरा) पनि राम्रो निस्कने साम्दोका ब्यवसायी निमा दोर्जे लामाले बताए ।

प्रतिक्रिया

TOP