गोरखाका एक युवा सहित चार जनाकाे रुस–युक्रेन युद्धमा मृत्यु

गोरखाका एक युवा सहित चार जनाकाे रुस–युक्रेन युद्धमा मृत्यु

काठमाडाैं । युक्रेन–रुस युद्धमा परी गोरखाका एक सहित चार नेपालीले ज्यान गुमाएका छन । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो । थपलिया भने असार मा नै युक्रेनको बाखमुतमा मारिएका थिए ।

यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ । रुसी सेनामा भर्ती हुने नेपालीको यकिन विवरण नराखेको नेपाल सरकारले यसबारे रुसी सरकारसँग कुराकानी भइरहेको बताएको छ । थपलिया गत जेठमा रुसी सेनामा भर्ती भई युद्धका लागि युक्रेन पठाइएका थिए ।

त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए । रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो । परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन ।

रुस–युक्रेन युद्धमा नेपाली मारिन थालेपछि सोमबारदेखि परराष्ट्रमन्त्री एनपी साउदले आन्तरिक छलफल थालेका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यसबारे मंगलबार परराष्ट्र, गृह र रक्षा मन्त्रालयको नेतृत्वसँग चासो राखेका छन् ।

‘रुसी उच्च तहसँगै छलफल भइरहेको छ । यसबारेमा नेपाल सरकारले छिटै आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नेछ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘कुनै निर्णय गर्नुभन्दा अघि यतिबेला आवश्यक सूचनाहरू संकलन गरिरहेका छौं ।’

उनले संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ पछि रुस–युक्रेन युद्धमा संलग्न नेपालीका बारेमा पनि सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पनि विस्तृत विवरण आउन बाँकी नै रहेको बताए । ‘युद्धमा नेपाली मारिएका छन् । यसबारेमा अहिले नै थप भन्ने कुरा केही छैन,’ उनले भने, ‘कुन स्थानको लडाइँमा नेपालीको मृत्यु भएको भन्नेबारेमा पत्ता लागेको छैन ।’

प्रतिक्रिया

TOP