गोरखा नगरपालिका र निलकण्ठ नगरपालिका बिच भगिनि सम्बन्ध, साझेदारीमा ऐतिहासिक तथा सांस्कृतिक पूर्वाधार निर्माण गर्ने

गोरखा नगरपालिका र निलकण्ठ नगरपालिका बिच भगिनि सम्बन्ध, साझेदारीमा ऐतिहासिक तथा सांस्कृतिक पूर्वाधार निर्माण गर्ने

गोरखा । गोरखा नगरपालिका र धादिङको निलकण्ठ नगरपालिकाको संयुक्त कार्यपालिका बैठक गोरखामा सम्पन्न भएको छ । भगिनी सम्बन्धमा रहेको दुई नगरपालिका बिच विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, ऐतिहासिक तथा सांस्कृतिक पूर्वाधार निर्माण साझेदारी लगायतका बिभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको गोरखा नगरपालिकाका वातावरण अधिकृत धुब्रप्रसाद घिमिरेले जानकारी दिए ।

संयुक्त कार्यापालिकाको बैठकले दुबै नगरपालिकाले एकअर्का नगरपालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्ने निर्णय समेत गरेको छ । गोरखा नगरपालिकाको ऐतिहासिक तथा साँस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण निलकण्ठ नगरपालिका क्षेत्रमा र निलकण्ठ नगरपालिका ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गोरखा नगरपालिका क्षेत्रमा निर्माण गर्ने गरी दुवै नगरपालिका बिच समझदारी भएको छ ।

समझदारी अनुसार निलकण्ठ नगरपालिकाले गोरखाको इतिहास झल्कने “राम शाहको न्यायको चौतारा’’ निर्माण गर्ने भएको छ । निलकण्ठ नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ मा नगरपालिका क्षेत्र भित्र आफ्नै लगानीमा रामशाहको न्यायको चौतारा निर्माण गर्ने भएको हो । यस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्व झल्कने पूर्वाधार निर्माण गर्दा एक आपसमा प्राविधिक तथा आर्थिक साझेदारी गर्ने समेत निर्णय दुई नगरपालिका बिच भएको छ ।

संयुक्त बैठकले यसअघि दुई पालिका बिच भएका निर्णय कार्यान्वयनका बिषयमा समेत छलफल गरेको उनले बताए । बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा दुवै पालिकाको संस्थागत सुदृढीकरणको लागि गोरखा नगरपालिका र निलकण्ठ नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगको आदान प्रदान गरिने उल्लेख छ ।

दुवै पालिकाका नगरप्रमुखहरुको फोटो संयुक्त रुपमा आ–आफ्नो नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा र उप–प्रमुखहरुको फोटो आ–आफ्नो नगरपालिकाको उप–प्रमुखको कार्यकक्षमा राख्ने निर्णय संयुक्त कार्यापालिकाको बैठकले गरेको छ ।

प्रतिक्रिया

TOP