गोरखा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा भिमसेन थापा गाउँपालिका इन्चार्ज लोकप्रसाद बन्जराले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले आफुले के पाए भन्दापनि समाज र समुदायले के प्राप्त गरे भन्ने तर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्र भिमसेनथापा गाउँपार्टी समितिले शनिवार आयोजना गरेको माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट नेता कार्यकर्ताहरु जनता प्रति उत्तरदायी भएर काम गनुपर्ने बताएका हुन् ।
केन्द्रीय सदस्य बन्जराले माओवादीले सत्ता नेतृत्वमा पुगे गरिव जनताको दैनिक जीवनमा परिवर्तनको अनुभूति भएमात्र परिवर्तनको महसुुस हुनसक्ने भन्दै पार्टी समिति र संगठनले त्यस तर्फ योजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
माओवादी विशेष रुपान्तरण अभियानले पार्टी नयाँ उचाई दिदै लगेको उनकोे भनाई छ ।
त्यस्तै बैठकमा बोल्दै गण्डकी प्रदेश समितिका सल्लाहकार गोपाल बराइलीले नेकपा माओवादी केन्द्रले भीमसेन थापा गाउँपालिकामा सरकारको नेतृत्व लिएसंगै गाउँपालिकाका जनताले शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाकलाप क्षेत्र साँच्चै स्थानीय सरकारको अनुभूति गरेको बताए ।
पार्टी नेतृत्वको स्थानीय सरकारले गरेका राम्रा कामलाई प्रचारप्रसार लाग्न नेता कार्यकर्ताहरुलाई उनले आग्रह समेत गरे ।
अभियान अन्र्तगत मंङ्सिर १६ गतेदेखि पुनः पार्टी सदस्यता नवीकरण, वडा तथा टोल र सेट समितिको भेला, खाली रहेका पदहरुको पदपूर्ति लगायतलाई तिव्रता दिने निर्णय बैठकले गरेको पार्टी सचिव मदन शाक्यले जानकारी दिए ।
भीमसेन थापा गाउँपार्टी समितिका अध्यक्ष सुजन पाण्डे (विनोद) को अध्यक्षतामा वसेको बैठकमा पार्टी सञ्चालन गरेको माओवादी विशेष रुपान्तरण अभियानको पहिलो र दोस्रो चरणको कार्यक्रमको समिक्षा गरेको हो ।
पार्टीले पालिका भित्र सञ्चालन गरेको अभियान प्रभावकारी भएको, संगठन चलायमान बनाउन अभियानले सहयोग पुगेको निस्कर्ष बैठकले निकालेको छ ।
प्रतिक्रिया