भिमसेन थापा गाउँपालिकाले पालिकाबाटै श्रम स्वीकृति सेवा प्रदान गर्न सुरु

भिमसेन थापा गाउँपालिकाले पालिकाबाटै श्रम स्वीकृति सेवा प्रदान गर्न सुरु

गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाले पालिकाबाटै बैदेशिक रोजगारी जान चाहानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । पालिकाले रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

गाउँपालिकाले वडा नम्बर ५ स्थित बगुवाका दिनेश परियारलाई पहिलो पटक श्रम स्वीकृति प्रदान गरेर पालिकाबाट सेवा प्रारम्भ गरेको हो । बैदेशिक रोजगारीका लागि मलेसिया जान लाग्नु भएका परियारलाई पालिकाको रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गरिएको उनले बताए ।

सेवाको थालनी गरेसंगै अबदेखि बैदेशिक रोजगारमा जान चाहानेहरुले पालिकाबाट श्रम स्वीकृति प्राप्त गर्नेछन् । बैदेशिक रोजगारीलाई थप मर्यादित, सुरक्षित भरपर्दो, पारदर्शी तथा सहज बनाउन र सेवाग्राहीलाई आफ्नो स्थानीय तहबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवात गरेको अध्यक्ष बन्जराले बताए ।

स्थानीय पालिकाबाट नै व्यक्तिगत श्रम स्वीकृति प्राप्त गर्नुभएका परियारले स्थानीय तहबाट श्रम स्वीकृति पाउदा खुशी लागेको बताउनुभयो । यसअघि श्रम स्वीकृतिका लागि काठमाण्डौँ धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । श्रम स्वीकृतिका लागि काठमाण्डौँसम्म पुग्नुपर्दा समयसंगै पैसा समेत बढी खर्च गर्नपर्ने अवस्था रहेपनि अव सहज भएको परियारको भनाई छ ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर कार्यालयमा सम्पर्क गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले स्वीकृतिका लागि आवश्यक सहजीकरण गरी श्रम स्वीकृति प्रदान गर्ने अध्यक्ष बन्जराले बताए ।

प्रतिक्रिया

TOP