गोरखा । गोरखामा आगलागी परेर एक घर जलेर पूर्ण रुपमा क्षति भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–६, अश्राङ ठाँटी बजारमा स्थानीयबासी राजेश थापामगरको घरमा आज विद्युत सट भएर आगलागी भएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए ।
बिहान करिब १० बजे घरमा कोहीपनि नभएको समयमा एक्कासी आगलागी भएको उनको भनाई छ । ‘‘आगलागीबाट घर भित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुडा लगायत सवै जलेर नष्ट भएको छ, उनले भने, ‘‘आगो दनदनी बलेपछि भित्रबाट कुनै समान निकाल्न सक्ने अवस्था नै रहेन ।’’
आगलागीबाट करिब ८ लाख भन्दाबढीको क्षति भएको अनुमान गरिएको उनले बताए । ‘‘आगलागीको जानकारी प्राप्त भएलगत्तै विद्युत प्राधिकरणलाई लाइन काट्न लगाएर करिब २ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो, वडाध्यक्ष रिमालले भने ‘‘नजिक चण्डीथानमा जात्रा हेर्न गएकाहरु स्थानीबासीहरु घटना लगत्तै जम्मा भएर आगो नियन्त्रणमा लिइएको हो ।’’
आगलागीबाट थापामगरको भुकम्पपछि निर्माण गरिएको तीनकोठे घर जलेर पूर्ण रुपमा नष्ट भएको उनले बताए । घरमा तरकारी खेतीका गर्नका लागि टनेल निर्माण गर्न भनेर राखिएका निर्माणका समाग्रीहरु समेत आगलागीबाट जलेर क्षति भएको छ ।
मानवीय क्षति नभएपनि घर पूर्ण रुपमा जलेर नष्ट भएको छ, वडाध्यक्ष रिमालले भने ‘‘भुकम्पपछि निर्माण गरेर घर आगलागीबाट ध्वस्त भएको छ ।’’ आगो तत्काल नियन्त्रणमा लिन सकिएका कारण वरपरको घर क्षतिबाट जोगिएको छ ।
प्रतिक्रिया