८५ लाख तिरेर अमेरिका हिडेका एक युवकको अध्यागमन हिरासतमा मृत्यु

८५ लाख तिरेर अमेरिका हिडेका एक युवकको अध्यागमन हिरासतमा मृत्यु

काठमाडौं । अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् ।
साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् ।

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन ।

पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।

गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।
उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए ।

हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।
सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् ।

नगर प्रमुख बस्नेतले मृत्युको खबर पाए लगतै शव स्वदेश झिकाउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया

TOP