
गोरखा । गण्डकी गाउँपालिकाले आफ्नै लगानीमा सडक कालोपत्रे गरेको छ । संघीय सरकारको समपूरक र गाउँपालिकाको साझेदारीमा पहिलो पटक स्थानीय सरकारको लगानीमा सडक कालोपत्रे भएको हो । कुल ७ कराेड ५४ लाख २३ हजार लागतमा सिनर्जी/होम जे.भि गोरखाले सम्झौताभन्दा करिब ३ महिना ढिला गरि निर्माण कार्य सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ मा ठेक्का लागेको यो सडक करिब ३.५ किलोमिटरको रहेको छ । पालिकाको वडा नं. ६ भुम्लिचोकको आग्री डाँडादेखि कुलबेशीसम्मको सडक असोजमा सम्पन्न भएको हो । आग्रीडाँडा-दलभञ्याङ्ग-रानीश्वारा-कौदी-पौवा-हटिया-कुवापानी-बतासे भञ्याङ सडक खण्डकाे एक खण्ड आग्री डाँडादेखि कुलबेशीसम्मको सडक कालाेपत्रे भएकाे हाे । यो सडकखण्डलाई गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका जोड्ने लाइफलाइनको सडकका रूपमा लिइन्छ ।
गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले आफ्नो लगानीमा गाउँपालिकाले एक परियोजनाको रूपमा यो सडक निर्माण गरेको भन्दै सडकले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सहयोग पुर्याउने बताए । सडकका अतिरिक्त कृषि, पर्यटन र पूर्वाधार विकासमा पनि गाउँपालिका अघि रहेको बताउँदै उनले भने, ‘प्रत्येक सडक जनताको समृद्धिसँग जोडिएको छ । सडक सम्पन्न भएसँगै होमस्टे र कृषि उपजले पनि बजार पाउनेछ ।’
निकै नै विवाद र चर्चामा रहेको र निर्माण हुने भन्दा भन्दै अन्योलमा रहेको बुढिगण्डकी जलविद्युत आयोजनाका कारण गण्डकीका धेरै सडक कच्ची नै भएको समयमा भएको पिचले गण्डकी र सहिदका स्थानीय गोरखा बजार धाउनु पर्ने बाध्यता हटेको उनी बताउँछन् ।
काठमाडौँ सहित पोखरा, चितवनलगायतका स्थानबाट गण्डकी र सहिद लखनका ठाउँमा जानका लागि गोरखा बजार जानु पर्ने बाध्यता थियो । यो सडक पिच भएपछि अब फिस्लिङ हुदैं जाने बाटो खुलेको उनी बताउँछन् । यो ट्याक गत वर्ष नै खुलेको भए पनि सडक पिच र स्तरउन्तीका कारण सहज भएको उनी दाबी गर्छन् ।
यो सँगै पालिकाले फिस्लिङ, आग्रीडाँडा हुदै भुम्लिचोकसम्म सडक स्तरउन्तीका लागि आर्थिक वर्ष २०८०/८१ मा करिब ३ करोड बजेट विनियोजित भएकाे पालिकाको पूर्वाधार विकास तथा भवन नियमन शाखाका प्रमुख ई. दिलीप खाँण बत्ताउँछन् । यो सडक स्तरउन्ती भएसंगै पालिकाका अन्य सडकखण्ड पनि स्तरउन्ती र कालाेपत्रेकाे काम भइरहेको छ ।
संघीय सरकार र पालिकाको संयुक्त लगानीमा निर्माण भएको यो सडक खण्ड बुढिगण्डकी जलविद्युत आयोजनाका प्रभावितका लागि लाइफलाइनका सडकमा रूपमा लिइन्छ ।
बुढिगण्डकी आयोजनाका कारण बेनिघाट लार्के पास सडक अलपत्र बनेपछि गोरखाका क्षेत्र न १ का अधिकांश सडक कच्ची नै छन् । चितवन र गोरखा जोड्ने फिस्लिङमा पक्की पुल बनेपछि यो सडक मार्ग हुदैं जिल्लाका क्षेत्र नं १ का अधिकांश सडक जोड्न सहज भएको यो खण्ड पिच भएपछि गोरखा सदरमुकामबाट समेत वैकल्पिक मार्गका रूपमा लिइएको गाउँपालिका अध्यक्ष तिमेल्सनाले बताए ।
दर्बुङबाट करिब ९ किलोमिटर रानीश्वारासम्मको आर्को सडकखण्डसमेत ठेक्का लागेको छ । यी दुवै सडकखण्ड पालिकाको वडा न ६, २, ३ र ४ का स्थानीय लाभान्वित हुन्छन् । यसका साथै गोरखाबजारसंग सिधा सम्पर्क हुने आर्को सडकखण्ड सिराउरेटार-लक्ष्मीबजार-दलभज्याङ्ग भाग पनि ठेक्का लाग्ने पक्रियामा रहेको पालिकाले जनाएको छ ।
भिडियो –
प्रतिक्रिया