युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

युएईले टस जित्यो, नेपाललाई बलिङको निम्तो

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र यूएई बीच आज प्रतिस्पर्धा हुँदैछ । मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

पहिले बलिङ गर्ने नेपाली टिममा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले टिममा स्थान बनाएका छन्। घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका छन्।

यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।

नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।

अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।

मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो। कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो। फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो।

त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको सो खेलमा जित हात पारे विश्वकपमा पुग्ने अवस्था थियो। तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो।

त्यसअघि नेपाल र युएईबीच ओमानमै भएको टी–२० सिरिजमा नेपाल २५ रनले पराजित भएको थियो।

सन् २०१९ मा नेपाल र युएईबीच भएको टी–२० सिरिजमा नेपालले तीन मध्ये दुई खेलमा जित निकालेको थियो। सो सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो। तर दोस्रो र तेस्रो खेल जित्दै नेपालले सिरिज २–१ ले जितेको थियो।

प्रतिक्रिया

TOP