काठमाण्डौं । भन्सार छलेर सुन ल्याएको आरोपमा गोरखाका अनिष थापा सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–२ ताङलीचोक घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्दै आएका ३० बर्षिय अनिष थापा सहित ५ जना भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।
थापा संगै भोजपुरका अमृतधन राई, सुनसरीका नजिर मन्सुर, धनुषाका कारी ईसार कवेट र खोटाङका अर्जुन भट्टराई भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुलाई गएको १२ गते आइतबार पक्राउ गरेको हो । कतार उडान मार्फत नेपाल आउने केही ब्यक्तिहरुले भन्सार छलेर अबैध रुपमा सुन ल्याई कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–९ सिनामंगलको शुम्भुमार्गबाट पाँचै जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट २१४.३६ ग्रामको ३ ढिक्का सुन र ५०।०१ ग्रामको सिक्री र नगद १ लाख १० हजार सहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको जनाएको छ । उक्त सुनको बजार मुल्य २६ लाख ५१ हजार ८९५ रुपैयाँ ४७ पैसा भएको पनि प्रहरीले जानकारी दिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका सबैलाई भन्सार ऐन, २०६४ अन्तरर्गत कसूरमा अनुसन्धानको लागी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यायल, गौचरमा बुझाएको पनि जनाएको छ ।
प्रतिक्रिया