गोरखामा आमाको नामबाट बंशजको आधारमा नागरिकता प्रदान गर्न सुरु

गोरखामा आमाको नामबाट  बंशजको आधारमा नागरिकता प्रदान गर्न सुरु

गोरखा । जिल्ला प्रसासन कार्यालय गोरखाले आमाको नामबाट बंशजको आधारमा नागरिकता प्रदान गर्न सुरु गरेको छ । कार्यालयले मंगलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ बर्षका मन्जित बानियाँलाई आमाको नामबाट बंशजको आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

उमेर पुगेर पनि बाबुको पहिचान नभएर नागरिकता बनाउन नपाएका बानियाँलाई आमाको नामबाट बंशजको आधारमा प्रदान गर्नेगरी गृह मन्त्रालयले गरेको परिपत्र अनुसार नागरिकता प्रदान गरिएको हो । नेपाल सरकारबाट नेपाल नागरिकता ९तेस्रो संशोधन० नियमावली, २०८० जारी भएपछि कार्यालयबाट आमाको नामबाट पनि नागरिकता वितरण सुरु गरिएको प्रजिअ भुसालको भनाई छ ।

नयाँ नियमावलीको व्यवस्था अनुसार १६ बर्ष उमेर पुगेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउने व्यवस्था रहेको उनले बताए । आमाको नामवाट नागरिकता पाउन निवेदक र निवदेकको आमाले बुवाको पहिचान नभएको स्वघोषणा सहित जन्मदर्ता, आमाको नेपाली नागरिकता, आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, वडा कार्यालयकोे सिफारीस सहित प्रशासनमा निवेदन दिनुपर्नेछ ।

त्यस्तै वडा अध्यक्ष वा वडाध्यक्षले तोकेका जनप्रतिनिधी र निवेदक सँग सम्बन्धित दुई जनाले प्रशासनमा आएर सनाखत गरेपछि नागरिकता प्रदान गरिने उनको भनाई छ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधन भएपछि बाबुको पहिचान नभएका व्यक्तिलाई पनि आमाका नामबाट नेपाली नागरिकता वितरण गर्न सुरु गरिएको हो ।

प्रतिक्रिया

TOP