गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ सगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) ले दिएको दवावपछि गोरखामा नयाँ भाडादर समायोजन हुने भएको छ । कच्ची सडक कालोपत्रे भइसक्दा पनि कच्चीकै भाडादर कायम रहेको भन्दै पाँचदिन भित्र जिल्लाका सवारी साधानहरुमा भाडा समायोजन गर्न माग गर्दै वाइसिएल गोरखाले असोज ८ गते जिल्ला प्रसासन कार्यालयलाई ज्ञापन पत्र बुझाए थियो । सोहि ज्ञापनपत्रका आधारमा सोमवार बसेको जिल्ला स्तरीय यातायात व्यवस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।
जस अनुसार अव गोरखा जिल्ला भित्र पक्की सडकमा प्रतिकिलोमिटर ५ रुपैया ३४ पैसा, ग्राभेल सडकमा प्रतिकिलोमिटर ७ रुपैया ८५ पैसा र कच्ची सडकमा प्रतिकिलोमिटर ९ रुपैया ४४ पैसा दर भाडा कायम हुने भएको छ ।
नयाँ भाडा दर निर्धारण भएसंगै वाइसीएल गोरखाका संयोजक सागर श्रेष्ठले संगठनले उठाएका एजेण्डा आमगोरखाबासीहरुको एजेण्डा भएकाले जनपक्षिय माग पुरा गरेको भन्दै प्रसासन, यातायात व्यवसायी लगायतका सराकोरवालाहरुलाई धन्यवाद दिएका छन् ।
नयाँ निर्धारण गरिएको भाडादर निसर्त लागू गर्न गर्न र कार्यान्वयनका लागि सम्बधित सरोकारवालाहरुलाई समेत उनले आग्रह गरे । संंयोजक श्रेष्ठले जनहितका एजेन्डालाई वाइसीएलले निरन्तर उठाउदै जाने प्रतिवद्धता पनि व्यक्त गरे ।
आमसर्वसाधारणको दैनिक जिवनमा उपयोग हुने यातयात क्षेत्रको विकृति नियन्त्रण गर्न र भाडा दरको बैज्ञानिक समायोजन गर्न वाइसीएलले माग गरेपछि सोमवार बैठक बसेर नयाँ भाडा तोकिएको हो ।
गोरखाको पालुङटार नगरपालिका र सिरानचोक गाउपालिका क्षेत्र भित्रका मध्यपहाडी लोकमार्ग र अन्य सडकखण्ड, त्यस्तै गोरखा घ्याम्पेसाल आरुघाट सडक खण्ड लगायतका सडकहरुमा कालोपत्रे भइसकेको लामो समय हुँदा समेत सार्वजनिक भाडादर भने कच्चिकै कायम रहेको थियो ।
सार्वजनिक यातायातले मनोमानी रुपमा पक्की सडकमा समेत कच्चीको भाडादर उठाउदा समेत राज्य र प्रशासन मौन बसेको भन्दै वाइसीएलले तत्काल आवस्यक पहल गरि नयाँ भाडादर तोक्न अल्टिमेटम दिएको थियो।
प्रतिक्रिया