काठमाण्डौं । भीमसेन थापा गाउँपालिका र रातो बङ्गला फाउण्डेशनको साझेदारीमा विद्यालय नेतृत्वहरुको एक दिने कार्यशाला रातो बङ्गला स्कुल ललितपुरमा सोमबार सम्पन्न भएको छ । भीमसेन थापा गाउँपालिका भित्रका प्राथमिक कक्षाका शिक्षकहरूलाई तालिम र कक्षाकोठा व्यवस्थापनका लागि कार्यक्रम सञ्चालन गरिएको रातो बङ्गलाका कर्मचारी गणेश दवाडीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका २८ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, विद्यालयका प्रा वि ईन्चार्जहरूका साथै भीमसेन थापा पालिकाका शिक्षा तथा सामाजिक विकास समितिका संयोजक नारायण श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले बिभिन्न अन्तरकियात्मक क्रियाकलापहरूमा सहभागिता जनाउनुका साथै रातो बङ्गला स्कुलका प्राथमिक कक्षाहरू, पुस्तकालय तथा अन्य कक्षाहरूको अवलोकन गरेका थिए ।
सार्थक बाल सिकाइ कार्यक्रम–भिमसेन थापा गोरखा नाम दिइएको उक्त कार्यक्रम गाउँपालिका र रातो बङ्गला बिच ३ बर्ष सम्म सञ्चालन गर्ने सम्झौता भएको कर्मचारी दवाडीले बताए ।
आगामी दिनहरूमा पालिका भित्रका २८ सामुदायिक विद्यालयका १५६ जना प्राथमिक कक्षाका शिक्षकहरूलाई १५ दिने तालिमका साथै कक्षाकोठा व्यवस्थापनका लागि शैक्षिक सामग्रीहरूको बितरण गरिने रातो बङ्गला स्कुलले जनाएको छ ।
हाल रातो बङ्गलाको साझेदारीमा भीमसेन थापा गाउँपालिका भित्रका ३६ ओटा विद्यालयमा संपूर्ण बाल कक्षामा कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत बाल कक्षाका ५५ जना बाल शिक्षकहरूलाई ३ चरण गरेर १५ दिने तालिम प्रदान गरको स्कुलले जनाएको छ ।
यस कार्यक्रम अन्र्तगत हरेक कक्षामा काठका ब्लक्स् लगायतका सामग्रहरू, टीभी, किताबहरू, किताब राख्ने र्याक, खेलका सामग्रीहरू,स्टेसनरीका सामानहरू पनि प्रदान गरेको छ ।
प्रतिक्रिया