काठमाडौं । बुढीगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा गोरखाका डा.जगतकुमार श्रेष्ठ नियुक्त भएका छन्।
ऊर्जा मन्त्रिस्तरीय निर्णयबाट उनी सीइओमा नियुक्त गरिएको हो। उनी बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइमा कार्यरत थिए।
यो इकाईले पूर्व तयारी र मुआब्जाको काम गरिरहेको थियो। सरकारले आगामी वर्षको बजेटमार्फत सो इकाइ कम्पनीमा गाभ्ने निर्णय गरेको छ।
१२०० मेगावाटको यो जलाशययुक्त जलविद्युत आयोजना सरकारले आन्तरिक स्रोतबाटै निर्माण गर्ने निर्णय गरेको छ। आन्तरिक स्रोतबाट निर्माण गर्ने भन्दै चिनियाँ कम्पनी गेजुवासँग खोसेर कम्पनी दर्ता गरिएको हो। कम्पनी दर्ता भएपनि एक वर्ष अलपत्र पर्यो।
ऊर्जा मन्त्रालयले कम्पनी संचालन गर्ने भन्दै गत भदौमा डेढ अर्ब रुपैयाँ मागेको थियो। अर्थ मन्त्रालयले आश्वासन दिएपनि निकासा नगरिदिएपछि कम्पनीले कामै गर्न सकेको थिएन।
केही दिन पहिले तत्कालका लागि काम अघि बढाउन भन्दै २२ करोड रुपैयाँ निकासा दिएको छ। सो रकम कार्यालय संचालन र विद्युत विकास विभागबाट लाइसेन्समा खर्च गर्ने गरी दिइएको छ।
सो रकम पाएपछि कम्पनीले नागरिक लगानी कोषको भवनमा भाडामा लिएर कार्यालय राख्दैछ भने गोरखामा साइट कार्यालय उद्घाटन गर्ने तयारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट शनिबार कार्यालय उद्घाटनको तयारी थियो। उनकी धर्मपत्नी सीता दाहालको बुधबार निधन भएपछि कार्यक्रम स्थगित भएको छ।
साउन पहिलो साता साइट कार्यालय उद्घाटन गर्ने तयारी छ।
प्रस्तावित आयोजना गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बुढीगण्डकी नदीमा बन्नेछ। आयोजना निर्माणका लागि ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।













प्रतिक्रिया