ललन कुमार चौरसिया ।
रौतहट, १५ साउन । आर्थिक वर्ष २०७९/८० मा ८ सय ७५ साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय गौर रौतहटले एक बर्षको अवधिमा ८ सय ७५ नयाँ साना उद्योग दर्ता गरिएका हुन् ।
यस अवधिमा ७ सय ५९ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख जयकान्त झाले बताउनु भएका हुन् । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ९ सय ४७ नयाँ दर्ता भएका छन् भन्ने १ हजार २ सय ७१ वटाको नवीकरण भएका छन् ।
आव २०७८/७९ मा १ हजार ६ सय ९७ साना उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख झाका अनुसार सो अवधिमा ५ सय १३ साना घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ १ हजार ६ सय ९२ नयाँ दर्ता भएका थिए भने ८ सय ८५ नवीकरण भएका घरेलु तथा साना उद्योग कार्यालय गौर रौतहटले जनाएको छ ।
आव २०७८/७९ को तुलनामा गत आवमा ८ सय २२ साना उद्योग दर्ता कम भएको कार्यालय प्रमुख झाले बताए । यसको प्रमुख कारण बैंकले ऋण प्रवाह बन्द गर्नु रहेको उनको भनाइ छ । गत आव २०७८र७९ मा बैंकले ऋण प्रवाह गरिरहेको कारण उद्योग दर्तामा वृद्धि भएको थियो ।
कार्यालयका अनुसार आव २०७७र७८ मा १ हजार ७ सय २८ साना उद्योग र वाणिज्यतर्फ २ हजार १ सय ४७ दर्ता भएको थियो । सो आर्थिक वर्षमा २ करोड ४८ लाख ६० हजार १ सय राजश्व संकलन भएको थियो ।
चन्द्रपुर, गुजरा, वृनदावन, कटहरिया र गढिमाई नगरपालिकालगायत स्थानमा साना उद्योग व्यवसाय तथा पसल गर्नेको संख्या बढी रहेको कार्यालय प्रमुख झाले बताए।
उनका अनुसार दर्ता भएका उद्योगमध्ये अधिकांश कृषि फर्म रहेको छ । कृषि फर्म मात्रै ७५ प्रतिशत दर्ता भएको उनले बताए । त्यस्तै २५ प्रतिशतमा फर्निचर, पार्लर, मोटरसाइकिल मर्मतलगायतका व्यवसायहरु रहेका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयले उधमशीलता कार्यक्रममा २ सय ४, सिपमूलक तालिम एडभान्सतर्फ १ सय ५ भगतसर्वजिततर्फ सिलाइ, कटाइ, कम्प्युटर तालिम १ सय २३ र नियमिततर्फ ३ सय १ जनालाई तालिम प्रदान गरेको छ ।
आ.व.२०७९/८० मा एडभान्सतर्फ गरुडा, कटहरिया, गौर नगरपालिका, भगतसर्वजिततर्फ गौर, चन्द्रपुर, कटहरिया र दुर्गाभगवती गाउँपालिका तथा नियमिततर्फ गौर, चन्द्रपुर नगरपालिका र उधमशीलतातर्फ गौर, चन्द्रपुर नपा र दुर्गाभगवती गाउँपालिकामा तालिम सञ्चालन भएका छन् ।
कार्यालयको आव २०७८/७९ मा बेरुजु नरहेको र आव २०७९/८० आलेप र मलेप हुन बाँकी रहेको जानकारी गराइएको छ । कार्यालयमा स्वीकृत दरबन्दी ९ जना रहेकोमा पदपूर्ति संख्या ४ रहेको र रिक्त पद संख्या ५ रहेको जनाइएको छ ।
आव २०७९/८० मा चालुतर्फ अन्तिम २ करोड ३७ लाख ६२ हजार ४ सय बजेट रहेकोमा २ करोड १९ लाख २ हजार ८ सय १४ बजेट निकास भई ९२।१७ प्रतिशत बजेट खर्च भएको छ । जबकि पुँजिगततर्फ ३ करोड १ लाख ८७ हजार ४ अन्तिम बजेट रहेकोमा २ करोड ४७ लाख १६ हजार १ सय ५० निकासा भइ ८१।८८ प्रतिशत बजेट खर्च भएको हो ।
जिल्लामा हालसम्म ११ हजार ३ सय ४३ साना घरेलु उद्योग दर्ता भएको छ भने १३ हजार ९ सय ९६ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया