गोरखा– गोरखा नगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।
नगरप्रमुख कृष्ण राना मगरले आइतबार आयोजित १२औँ नगर सभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र पर्यटन प्राथमिकतामा छन् ।
उत्पादनमा आधारित अनुदान कार्यक्रम लागु गरी निर्वाहमुखी किसानलाई व्यसाहिक किसानमा रूपान्तरण गर्ने नीति नगरले लिएको छ ।
तरकारी तथा फलफूल सङ्कलन केन्द्र तथा बजारसम्म पु¥याउनको लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने नीति लिएको नगरले हाटबजार, सङ्कलन केन्द्र तथा चिस्यान केन्द्रको स्थापना गर्ने नीति लिएको छ ।
खेतीयोग्य जमिनलाई बाँझो जमिन राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै खेतीयोग्य बाँझो जमिन भूमि बैङ्कका रूपमा निर्माण गरी साधारण खेती तथा व्यावसायिक खेती गर्न चाहने किसानलाई जग्गा रोपनीको आधारमा भाडा अनुदानको व्यवस्था गर्ने लक्ष्य लिएको छ ।
निजी क्षेत्र र सहरकारी संस्थासँगको सहकार्यमा प्राङगारिक मल उद्योग स्थापना, किसानलाई भूमि मलप्रयेग गर्न प्रोत्साहन गर्ने, सुत्केरी गाई भैँसीका लागि भिटामिनको व्यवस्था गर्ने, दरौंदी नदी तथा अन्य नदीमा मत्स्य पकेट ब्लक कार्यक्रमको लागि पोखरी निर्माण तथा अन्य सहयोग, बाँदर नियन्त्रणको लागि योजना बनाइने तथा बढी प्रभाव भएका सम्भावित क्षेत्रमा काजु र कपिको खेती गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय स्रोत साधनलाई उत्पादनसँग जोडेर छिटो प्रतिफल दिने क्षेत्रमा सहभागितामूलक योजनाहरूलाई प्राथमिकतामा राखिएको छ ।
रैथाने बालीको संरक्षण गर्दै उन्नत जातको बालीको व्यवसायीकरणमा जोड दिने, पशुहरूमा लाग्ने रोगको नियन्त्रण गरी पशुपन्छीलाई खोप तथा औषधि उपचारको व्यवस्था गर्ने, पशुपन्छीजन्य उत्पादन गर्ने कृषकलाई प्राविधिक सहयोग र गोठ तथा खोर सुधारको कार्यक्रम निरन्तरता दिएको छ ।
नगरको बजेट एक अर्ब ३२ लाख
नगरपालिकाको आगामी आर्थिक वर्षको अनुमानित बजेट एक अर्ब ३२ लाख रहेको छ । नगरपालिकाको १२ औ नगर सभालाई सम्बोधन गर्दै नगर उपप्रमुख मसलीमाया थोकरले आगामी आर्थिक वर्षका लागि अनुमानित एक अर्ब ३२ लाखको बजेट सार्वजनिक गरेकी हुन् ।
संघीय सरकारको तर्फबाट वित्तीय समानीकरण अनुदान शीर्षकबाट २१ करोड २२ लाख, सशर्त अनुदान चालुबाटमा ३६ करोड, ४३ लाख, सशर्त अनुदान पुँजीगततर्फबाट दुई करोड ३६ लाख, विशेष अनुदान शीर्षकबाट एक करोड र समपूरक अनुदानबाट ८० लाख रहेको छ ।
त्यस्तै, प्रदेश सरकारको तर्फबाट वित्तीय समानीकरण अनुदान शीर्षकबाट तीन करोड २४ लाख ५८ हजार र समपूरक अनुदानअन्तर्गत १ करोड रुपैयाँ विनियोजन भएर आएको छ । राजस्व बाँडफाँड तर्फबाट संघीय सरकारबाट १२ करोड १२ लाख ६८ हजार, विद्युत् रोयल्टीबाट १ करोड र प्रदेश सरकारबाट १ करोड ७३ लाख ३९ हजार प्राप्त भएको जनाइएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ५ करोड ७६ लाख सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
घरजग्गा रजिस्ट्रेसनबाट ९० लाख, जनसहभागिताबाट एक करोड, क्रमगत योजनाबाट ७ करोड, सडक बोर्ड नेपालबाट ७५ लाख र नगर विकास कोषबाट ४ करोड प्राप्त गर्ने अनुमान नगरपालिकाले गरेको छ ।
सबै गरेर आगामी आर्थिक वर्षको अनुमानित बजेट एक अर्ब ३२ लाख ६५ हजार हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया