काठमाडौं, ९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको संघर्षको अन्त्य नभएकोले दाहालकै नेतृत्वमा देशको समृद्धि सम्भव भएको जिकिर गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कविता महोत्सवमा मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको नेतृत्वमा संघर्षपूर्ण शान्ति स्थापनादेखि परिवर्तन भएको भन्दै समृद्धिको जग पनि प्रधानमन्त्रीकै नेतृत्वमा सम्भव हुने बताए ।
उनले भने, ‘संघर्षको अन्त्य भएको छैन् । खराब प्रवृतिको विरुद्धमा संघर्ष गरेर समृद्धि निर्माण र सुशासन कायम गर्नुपर्ने छ । उहाँबाट त्यो सम्भव छ । प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा संघर्ष पनि भयो, शान्ति पनि उहाँकै नेतृत्वमा यो देशले प्राप्त गरेको छ र उहाँकै नेतृत्वमा समृद्धिको जग हाल्नसक्ने ठूलो सम्भावना छ ।’
त्यस्तै, उनले नेपालको भूगोल सानो भएपनि भाषा र संस्कृतिको हिसावले देश विशाल रहेको उल्लेख गर्दै त्यस्मा गौरव गर्दै भिन्नभिन्न संस्कृति र भाषालाई बुनेर एक बनाउनुपर्नेमा जोड दिए ।
‘हाम्रो भूगोल सानो छ । उत्तर र दक्षिणतर्फ हाम्रा ठूला मित्र राष्ट्रहरु छन् । तर संस्कृति र भाषाको दृष्टिकोणले हामी साना छैनौं । यो हाम्रो गौरवको विषय हो । यि सबै भाषा भाषी र विविध संस्कृतिहरुलाई एउटै धागोले बुनेर एक बनाएर संसारमा प्रस्तुत हुन सक्नुपर्छ ।’
भ्रष्टाचारको विरुद्ध र समृद्धिको पक्षमा जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न तयार रहेको बताएका उनले साहित्यको क्षेत्रबाट समाज परिवर्तनका लागि लाग्न प्राज्ञिक वर्गलाई आग्रह गरे ।
प्रतिक्रिया