तनहुँमा नौ वर्षीय नाबालक बसे आमाको काजकिरियामा

तनहुँमा नौ वर्षीय नाबालक बसे आमाको काजकिरियामा

तनहुँ । आमाको मृत्यु पछिनौ वर्षीय छोरा किस्मत दरै आमाको काजकिरिया बसेका छन् । व्यास नगरपालिका–१२ स्थित कमलबारी निवासी आमा शर्मिलाको २६ वर्षको उमेरमा मृत्यु भएपछि नाबालक छोरा विधिवतरूपमा काजकिरियामा बसेका हुन् ।

सुत्केरी गराउने क्रममा आमा शर्मिलाको पोखरास्थित गण्डकी अस्पतालमा मृत्यु भएपछि छोरा काजकिरियामा बसेका हुन् । मृतक दरैको बुधबार दमौलीस्थित छाब्दी दोभानघाटमा जातीय पराम्पराअनुरुप अन्त्येष्टि गरिएको हो ।

जेठ २८ गते दमौली अस्पतालमा उपचारका लागि लगे पनि सम्बन्धित चिकित्सक नभएको जानकारी पाएपछि देउरानीलाई पोखरा लगिएको मृतककी जेठानी निरु पौडेल दरैले जानकारी दिए। उपचारका क्रममा नवजात शिशुलाई बचाउन नसकेपछि आमालाई बचाउन चिकित्सकले भने अनुरुप पाठेघरसमेत फयाँक्दा पनि बचाउन नसकिएको उनले दुखेसो पोखे ।

अस्पतालका चिकित्सकको लापरवाहीका कारण महिला र शिशु दुवैको मृत्यु भएको भन्दै मृतकका आफन्तले केही दिनसम्म शव बुझ्न मानेका थिएनन् । शव नबुझेपछि पीडित पक्ष र अस्पतालका चिकित्सकबीच द्विपक्षीय छलफल भएको थियो ।

छलफलका क्रममा मृतकका छोरा नौ वर्षीय किस्मतको जीवनभर स्वास्थ्योपचारमा छुट दिने सहमति भएको मृतककी हजुरबुवा चीजबहादुर दरैले जानकारी दिए। अस्पतालले मृतक महिलाको शव दमौली घाटसम्म निःशुल्करूपमा ल्याइदिन सहयोग गरेको उनले बताए ।

“नसोचेको दुःखद् घट्ना हुन पुग्यो”, उनले भने “न त आमा रह्यो न त शिशुलाई नै बचाउन सकियो, जस्तो परे पनि सहनुबाहेक अरु केही भएन ।”

प्रतिक्रिया

TOP