के स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन प्रचण्ड तयार भएका हुन्

के स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन प्रचण्ड तयार भएका हुन्

सोमबार, वैशाख १८ ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएको खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थशास्त्रीसमेत रहेका सांसद स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन प्रस्ताव गर्ने जनाएको छ ।

सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मुकुल ढकालले वाग्लेलाई अर्थमन्त्री बनाउन आफ्नो दलले प्रस्ताव गर्ने बताएका हुन् ।

आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले देशको अर्थतन्त्र कमजोर भएकाले उक्त मन्त्रालयमा रास्वपाले दाबी गर्नु पर्ने बताएका उनको भनाइ छ । तर, त्यसका लागि सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्नु पर्ने उनको भनाइ छ ।‘अर्थतन्त्र कमजोर भएका कारणले अर्थ मन्त्रालयमा दाबी गर्नुपर्छ भन्ने धारणा पनि सदस्यहरुले राख्नुभयो’ उनले भने , ‘तर पहिला जाने वा नजाने निर्णय भएपछिको कुरा भयो ।अर्थमन्त्रालय दिन प्रधानमन्त्री तयार भएको अवस्थामा वैशाख १० को उपनिर्वाचनमा तनहुँबाट निर्वाचित स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउन आफ्नो दलले प्रस्ताव गर्ने ढकाल बताउँछन् ।

‘प्रधानमन्त्री तयार भएको अवस्थामा स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउँदा हामी एकदमै खुसी हुन्छौँ । यो देशको अहिलेको आवश्यकता हो,’ उनले भने, ‘तर जाने वा नजाने निर्णय शुक्रवार मात्रै हुन्छ ।’आज बसेको बैठकले वाग्लेलाई पार्टीको अर्थ नीति विभाग प्रमुख बनाएको छ ।
प्रधानमन्त्री पहिले रास्वपाले पाएको मन्त्रालय दिन र न्यूनतम साझा कार्यक्रम पुनर्लेखनका लागि पनि तयार रहेको ढकालको दाबी छ ।

प्रतिक्रिया

TOP