सोमबार, वैशाख १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बताएका छन्।
सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमी ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए। अहिले त्यसमा क्रमशः सुधार आउँदैछ। बैंकको ब्याजदर केही घटेको छ। यो महिनाभित्र थप केही घट्छ। अघिल्लोपटक मैले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा पनि अर्थतन्त्र अप्ठ्यारोमै थियो। तर, निकै ठूलो दुस्ख र मिहेनतपछि त्यसमा राम्रो सुधार आयो। ७।५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरियो। राजनीति र अर्थतन्त्र दुवैमा राम्रो प्रगति भयो। त्यसपछि नेपाली कांग्रेसका सभापति देउवाजीलाई प्रधानमन्त्री हस्तान्तरण गरिदिएँ। अहिले पनि म त्यस्तै परिस्थितिमा प्रधानमन्त्री भएको छु। यतिबेला मैले अघिल्लो कार्यकाल सम्झिरहेको छु।’
उत्पादन र रोजगारीमा लगानी केन्द्रित नगरी समृद्धि र विकासको लक्ष्य हासिल गर्न नसकिने भएकाले सरकारको नीति, कार्यक्रम र बजेटलाई त्यतातर्फ केन्द्रित गर्न खोजेको प्रचण्डले बताए।
उनले भने, अर्थतन्त्र लयमा फर्किन थालेको छ। यसले उत्साहजनक नतिजा दिने मैले विश्वास लिएको छु। अर्थतन्त्रमा राम्रो सुधार ल्याएर, देशले सम्झिनलायक केही कामहरू गरेर सहमतिअनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने इच्छाका साथ काम गरिनेछ।’
प्रतिक्रिया