काठमाडौं । सत्ता गठबन्धनको बैठक बुधबार पनि बस्दै छ । मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि बुधबार बिहान पुनः बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान ९ बजे शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।
गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाउन निकै सकस भएको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । दलहरुले आकर्षक मन्त्रालयमा आ–आफ्नो दाबी नछोडेपछि सहमति जुट्न सकेको थिएन ।
मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई अर्थसहित आठ, माओवादी केन्द्रलाई गृहसहित पाँच, नेकपा ९एकीकृत समाजवादी० लाई तीन, जसपालाई तीन र अन्य साना पार्टीहरुलाई एक एक मन्त्रालयको भागवण्डाको प्रस्ताव गरेकोमा दलहरुबीच सहमति जुट्न नसकेको हो ।
कांग्रेस र माओवादीबीच गृह मन्त्रालयलाई लिएर विवाद भएको छ भने अन्य साना पार्टीहरुले प्रधानमन्त्रीले छुट्याएको भागमा चित्त बुझाएका छैनन् ।
मंगलबारको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बुधबार पुनः बसेर निस्कर्ष निकाल्ने बताउनु भएको थियो ।
मन्त्रालय भागबण्डा नटुंगिंदा मन्त्रिपरिषद् पुनर्गठन हुन सकेको छैन । गृह र अर्थ जस्ता महत्वपूर्ण मन्त्रालय समेत लामो समयदेखि खाली रहँदा नीतिगत निर्णयका लागि समेत समस्या भईरहेको छ ।
प्रतिक्रिया