गोरखा । गण्डकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाको १० औं गाउँसभाले अध्यक्ष दिपक तिमिल्सिनाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
‘सामाजिक न्यायसहितको दिगो विकासको चाहना, कृषि, उद्योग, पर्यटन प्रवद्र्धन योजना’ भन्ने नाराका साथ कृषि, सडक र पूर्वाधारलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन गरी नयाँ लघु उद्यमीहरु सृजना गरिने, भइरहेका उद्यमीहरुको स्तरोन्नति गर्नका लागि पुनर्ताजगी तालिम संचालन गरि प्रबिधि हस्तान्तरण गरिने पालिका अध्यक्ष दिपक तिमिल्सिनाले जानकारी दिए ।
कृषिमा व्यवसायीकरण गर्दै प्रविधिमैत्री र सम्मानित पेशा बनाइने, गाउँपालिकामा बहुउद्देश्यीय नर्सरीको केन्द्र स्थापन गरी जडिबुटी, तरकारी लगायत फलफुल खेती प्रबर्धनमा जोड गरी एक वडा, एक फलफुल बगैचा निर्माणमा जोड गरिने प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ ।
पशुपालन कार्यलाई सहज र लागत मूल्य कम गर्न विभिन्न जातका घाँस, औजार साथै घरायसी दाना निर्माणलाई जोड गरिने, दुध तथा दूधजन्य पदार्थ उत्पादन गर्ने कृषक, कृषि फर्म, सहकारी, समुहलाई सहकार्यमा दूध चिस्यान स्थापनाको लागि सहयोग गरिने र पशुधनको रक्षाको लागि पशुपंक्षी विमा कार्यक्रम संचालन गर्ने नीति लिएको छ ।
गाउँपालिकाकाको मुख्य मुख्य पर्यटन क्षेत्र मुन्थला मन्दिर, भैरवी मन्दिर, महादेवथान मन्दिर, दर्वुङ भगवतीकोट र वेनी संगम लगायत ठाँउलाई सम्वर्धन र प्रवद्र्धन गर्दै कृषि पर्यटन जलयात्रा लगायत पर्यटन क्षेत्रमा “गण्डकीको अभियानः पर्यटनलाई सम्मान“ को नीति अपनाइने उनले बताए ।
स्थानीय स्तरको ज्ञान, सीप, मूल्य मान्यता, संस्कृति र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्न स्थानीय पाठ्यक्रम निर्माण गरिने, विद्यालयको आवश्यकता, औचित्यता, विद्यार्थी संख्या र शिक्षक संख्याको अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान गरिने प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
शहिद वेपत्ता परिवार घाईते टुहुरा गरिव जेहेन्दार विद्यार्थीहरुको छात्रावृत्तिको व्यवस्थापन गरिने, स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियालाई अगाडि बढाइ लागु गरिने उनले बताए ।
यस्तै, जनताको स्वास्थ्य गण्डकी सरकारको दायित्व अन्तरगत जेष्ठ नागरिक शारिरिक असक्त भएकालाई घर घरमा त्रैमासिक रुपमा स्वास्थ्य सुचारु गरिने र ज्येष्ठ नागरिक भेटघाट स्थल निर्माण तथा ज्येष्ठ नागरिक मञ्च गठन र ज्येष्ठ नागरिक कल्याणकारी नीति ल्याइने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
६० वर्ष माथिका, जीवनमा एकपटक पनि विवाह नगरेका, गण्डकी गाउँपालिकाभित्र रहेका लैंगिक यौनिक अल्पसंख्यक र राज्यको सामाजिक सुरक्षा मापदण्डभित्र नपरेका एकल पुरुषहरुलाई मासिक रु १५०० का दरले सामाजिक सुरक्षा (निर्वाह भत्ता) प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने नीति लिएको छ ।
एक वडा एक गौरवको योजनालाई उच्च प्राथमिकता दिई कार्यान्वयन गरिनेछ । पालिका केन्द्र जोडने मुख्य सडकहरुको निर्माण कार्यलाई क्रमागत योजनाको रुपमा राखी सडकको स्तरोन्नतिमा आवश्यक वजेट विनियोजन गरिनेछ । साथै मुख्य मुख्य सडकहरु प्रदेश तथा संघीय सरकारसंग समपुरक अनुदानमा सहकार्य गरी स्तरोन्नति गरिनेछ ।
गाउँपालिका स्तरीय सडक यातायात गुरु योजना निर्माण गरी गाउँपालिकाभित्र निर्माण भएका सडक योजनाहरुलाई बर्गीकरण गरिनेछ र गण्डकी गाउँपालिकाभित्रका सडक सन्जाललाई उचित प्रवद्र्धन गरी बर्षभरि नै सहज बनाइने उनले जानकारी दिए ।
गाउँपालिकाभित्र नै एकसयबाटसम्मको एफएम रेडियो सञ्चालनको लागि निजी क्षेत्रलाई आवश्यक सहजीकरण गरिने जनाएको छ ।
गाउँपालिका क्षेत्रभित्र अतिक्रमित सार्वजनिक तथा सामुदायिक भूमिको पहिचान गरी त्यस्तो भूमिलाई संरक्षण गरिने, अव्यवस्थित रुपमा जग्गाको खण्डीकरणलाई निरुत्साहित गरी चक्लाबन्दीमा जोड दिइने र भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनमा आवश्यक प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा समावेश गरेका छन् ।
प्रतिक्रिया