![शहीदलखनको नीति तथा कार्यक्रम : युवालाई रोजगार दिने](https://gandakidiary.com/wp-content/uploads/2022/06/288452343_shihid.webp)
गोरखा । शहीद लखन गाउँपालिकाले युवालाई रोजगारी दिने भएको छ । ११ औँ गाउँ सभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम सार्वजनीक गर्दै युवालाई कम्तीमा ५० दिन रोजगारी दिने बताएका हुन् ।
‘कृषि पर्यटन र पूर्वाधारको दिगोपनः समृद्ध सुसंस्कृत शहिदलखन’ भन्ने नारासहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा १८ देखी ४० वर्ष उमेर समुहका बेरोजगार युवाहरुलाई कम्तीमा ५० दिन रोजगारी उपलब्ध गराउन ‘शहिद लखन युवा रोजगार कार्यक्रम’ संचालन गर्ने उल्लेख छ ।
श्रमजीवि युवाहरुको पहिचान गरी प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोड्ने, व्यवसाय संचालन तथा विस्तारका लागि बीउ पूँजी प्रदान गर्न ‘शहिद लखन युवा स्वरोजगार घुम्ती कोष’ संचालन गर्ने योजना गाउँपालिकाले लिएको छ ।
पालिकाले ५ रोपनी भन्दाबढि जग्गा बाँझो राख्नेलाई भूमिकरमा दोब्बर दस्तुर लिने, एक वडा एक कृषि उपज संकलन केन्द्रको स्थापना गर्ने र उत्पादनमा आधारित भई कृषकलाई अनुदान दिने योजना सार्वजनिक गरेको छ ।
बाझो तथा उत्पादनशिल जग्गा भाडमा लिई ब्याबसायिक खेतीगर्ने कृषकहरुको लागिजग्गा भाडा उपलब्ध गराउने, उत्पादनमा आधारित भई कृषकलाई अनुदान दिने कार्यक्रम संचालन गर्ने र कृषि उपजको सहज बजारीकरणको लागि कृषि एम्बुलेन्स सेवा संचालन गर्ने निति लिईएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।
गाउँपालिका भित्रका कृषिजन्य वस्तुहरुको उत्पादनलाई प्रशोधन गर्न एक औद्योगिक ग्रामको स्थापना गर्ने, तालिमहरुबाट ब्यबसाय सञ्चालन गरी आफु स्वंयम रोजगार भएका तथा अरुलाईसमेत रोजगार दिएका उद्यमीहरुलाई थप प्रोत्साहन गर्न ब्यक्तिगत तथा सामूहिक अनुदान प्रदान गरिने उल्लेख छ ।
यस्तै, दलित, सीमान्तकृत, अल्पसंख्यक तथा सर्वसाधारण गाउँपालिकाबासी नागरिक माझ सहकारीको पहुँच बिस्तार, श्रमिक तथा पेशाकर्मीहरुको हक अधिकार संरक्षण तथा व्यवसायिकता विकासको लागि श्रमिक सहकारी संस्था स्थापनालाई प्राथमिकता दिईने अध्यक्ष थापा मगरले बताए ।
ल्याण्डफिल्ड साईटको पहिचान गरी फोहोर ब्यवस्थापन गर्ने र हरेक टोलमा ल्याण्डफिलसाइटको पहिचान गर्ने उनको भनाई छ ।
विभिन्न युद्धकालका शहिद, बेपत्ता तथा घाइते व्यक्तिहरुको सम्मान स्वरुप एक प्रतिष्ठान स्थापन गरिने, लखन किल्लामा प्रथम जनविद्रोहका सबै शहिद तथा योद्धाहरुको संग्रहालय र स्मारक बनाई जनस्तरमा उनीहरुको योगदानबारे परिचित गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकामा उत्कृष्ट सिकाइ उपलब्धी शिक्षक तथा विद्यालयलाई विशेष अनुदान दिइने, सम्भावना बोकेका कम्तीमा एक सामुदायिक माध्यमिक विद्यालयलाई आवासीय विद्यालय निर्माण गर्न सुरुवात गरिने अध्यक्ष राना मगरले जानकारी दिए ।
३–४ वर्षका बालबालिका १० जनाभन्दा बढी भई समुदायस्तरमा बालकक्षा सञ्चालन गर्न आवश्यकता देखिएमा स्वयम्सेवक शिक्षक व्यवस्थापन गर्ने नीति गाउँपालिकाले लिएको छ । गाउँपालिकास्तरको खेलमैदान निर्माण, सडक मापदण्ड र भवन मापदण्ड अनुरुप आनिवार्य रुपमा नक्सापास गरेर मात्रै घरसंरचना निर्माण गर्ने नीति पालिकाले लिने अध्यक्ष थापा मगरले बताए ।
स्वास्थ्य संस्थाहरुमा चौबीसै घण्टा स्वास्थ्य सेवा प्रदान गरिने, आगामी ३ वर्षभित्रमा २० वर्षदेखि ६० वर्षसम्मका गाउँपालिकाभित्र बसोबास गर्ने सबै महिलाहरुको पाठेघरको क्यान्सरको परीक्षण गर्ने कार्यक्रम शहीदलखन गाउँपालिकाले स्वास्थ्य नीति अन्तरगत तय गरेको छ । गर्भवती तथा सुत्केरी महिलाहरुलाई माथिल्लो संस्थामा प्रेषण गर्दा निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने उल्लेख गरिएको छ ।
पर्यटन प्रबद्र्धनका लागि होमस्टेहरुलाई प्रोत्साहन, मनकामना मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न आवश्यक पहल गर्ने नीति तथा कार्यक्रम तय गरिएको पालिकाका अध्यक्ष मगरले जानकारी दिए ।
प्रतिक्रिया