आगामी निवाचर्नमा स्वतन्त्र उम्मेदवारी अभियान सुरु

आगामी निवाचर्नमा स्वतन्त्र उम्मेदवारी अभियान सुरु

आगामी स्थानीय तहको निर्वाचनका लागिस्वतन्त्र उम्मेदवारी अभियान सुरु गरिएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार उठ्नुको कारण खुलाइएको थियो ।

 

नयाँ बानेश्वरस्थित सडकमा गरिएको पत्रकार सम्मेलनमा नागरिक समाजका अगुवा, सामाजिक अभियन्ताले बोलेका थिए । जसमा विरेन्द्र झापाली, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, गणेशकुमार मण्डल, बद्री खतिवडा, ब्लुडाइमन सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ उपस्थित थिए । अभियानलाई सम्बोधन गर्दै विरेन्द्र झापालीले राजनीतिक दल र दलीय निर्वाचन प्रणाली आफैँमा खराब नभए पनि समाजमा राम्रा र स्वच्छ व्यक्ति निर्वाचित हुने अवस्थाबाट वञ्चित भइरहेको हुँदा स्वतन्त्र उम्मेदवार जरुरी रहेको बताए ।

हालसम्म अभियानमार्फत १९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअर्न्तगत प्रदेश १ मा ३ सय ४७ जना, मधेस प्रदेशमा ३०९, बागमती प्रदेशमा ३ सय ६४ जना छन् । त्यस्तै, गण्डकी प्रदेशमा २ सय ८६ जनाले, लुम्बिनी प्रदेशमा २ सय ६५ जना, कर्णालीमा १ सय ८८ र सुदुरपश्चिम प्रदेशमा २ सय ३९ जनाले उम्मेदवारी घोषणा गरेका छन् । अभियानअर्न्तगत देशभर हालसम्म ४ हजार ६ सय ५७ जनाले उम्मेदवारी हुने इच्छासहितको फारम भरेको अभियानका संयोजक डम्बर साहुले बताए । पत्रकार सम्मेलनमा थुप्रै इच्छुक स्वतन्त्र उम्मेदवार समेत उपस्थित थिए ।

अभियानले कसरी काम गर्छ ?
अभियानले तीन तहमार्फत आफ्नो अजेण्डा जनता समक्ष लैजाने छ । पहिलो तहमा मेन्टर वा सल्लाहकार रहनेछन् । यसमा स्थानीय सरकार सञ्चालन, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका विज्ञ रहनेछन् । दोस्रो तहमा कार्यकारी समिति रहनेछ । यसले उम्मेद्वार र अन्य आवश्यक संयन्त्र जस्तै– संघसंस्था, सञ्चार माध्यमबीचको पुल बनेर व्यवस्थापनको काम गर्नेछ । तेस्रो तहमा कर्मचारी र स्वयम्सेवकहरू रहनेछन् । यो तहमा रहनेले विभिन्न तहसँग सम्पर्क, समन्वय गर्ने, कामको डिजाइन र कार्यान्वयनमा लैजान सघाउने छ ।

प्रतिक्रिया

TOP