जापान (टोकियाे)। नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् ।
जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नेपाल सन्देश डटकमका प्रधानसम्पादक श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन्।
जम्मा ८६ जना सदस्य रहेको रहेको जापान शाखाको मतदानमा ७७ मत खसेको थियो । अध्यक्ष पदका लागि श्रेष्ठ र राजन गौतमको उम्मेद्वारी परेको थियो । अध्यक्षमा श्रेष्ठ ४४ मत सहित निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी गौतमले ३२ मत प्राप्त गर्दै पराजित भएका हुन् । श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् ।
यसैगरी खुला उपाध्यक्षमा प्रतिस्पर्धी गोर्कण अधिकारीलाई दुई मतले पराजित गर्दै मनिषा चौलागाई निर्वाचित भएकी छिन्।
चौलागाईंले ३० मत पाउँदा अधिकारीले २८ मत प्राप्त गरेका हुन् भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत ल्याए । यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल र सचिवमा अर्जुन लामिछाने विजयी भए ।
महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत प्राप्त गरिन्। यसैगरि सचिवमा अर्जुन लामिछानेले ४५ मत सहित बिजयी हुँदा विश्वास आचार्य ३२ मत प्राप्त गर्दै पराजित बने ।
अन्य पदहरूमा भने सर्वसम्मत भएको थियो । नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।














प्रतिक्रिया