भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध

भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ ।

असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहकार्य गर्नका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् ।

भरतपुर पुगेका ताराखोलाका जनप्रतिनिधि र भरतपुरका जनप्रतिनिधिबीच भगिनी सम्बन्धको प्रस्तावपत्रमा सोमबार हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर विक र भरतपुरका प्रमुख रेणु दाहालले संस्कृतिको आदानप्रदान, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्नेगरी भगिनी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रस्तावपत्रमा भरतपुरका प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा ताराखोलाका तर्फबाट अध्यक्ष विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सो गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत बागलुङको पर्यावरण पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको क्षेत्र र धार्मिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भरतपुरबीच भगिनी सम्बन्ध कायम गरिएको गाउँपालिकाका अध्यक्ष विश्वकर्माले जानकारी दिए। घुम्टे, गाईघाट झरना, डुडेलेक तथा धार्मिक क्षेत्र तिनचुले, बराह मन्दिर, घुम्टे सिद्ध थान पर्यटकीय क्षेत्र रहेको ताराखोला स्थानीय उत्पादन र संस्कृतिलाई महानगरसामु चिनाउन भगिनी सम्बन्ध कायम गरिएको विश्वकर्माले बताए।

प्रतिक्रिया

TOP