
गोरखा । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अव बंशवादमा आधारित निरंकुस राजतन्त्र अव असम्भव भएको बताएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आज समुद्घाटन गर्नुहुँदै उहाँले राजवादीहरुले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताव्दीको युगमा निरंकुसतन्त्रलाई जनताले स्विकार गर्न नसक्ने बताएका हुन्।
नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाई छ । ‘‘राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडी राखेर फेरी अर्को पात्र सिङ्गारपटार गरेर अगाडी ल्याउन खोजिएको छ, उनले भने, ‘‘१५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन्, तर पनि हामी सजग त हुनुपर्छ ।’’
उनले सरकारको कमीकमजोरीका कारण जनतामा नैरास्यता आउदा केही असन्तुष्टी बढेको भन्दै आफुहरुले सरकारलाई पनि निरन्तर खवरदारी गर्दै आएको बताए। ‘‘नेपालमा राजतन्त्र सक्रिय हुँदा र संघीय लोकतान्त्रिक गणतन्त्र हुँदाको अवस्थालाई तथ्यका आधारमा तुलना गर्दा गणतन्त्रमा गुणात्मक सुधार भएको छ, अध्यक्ष दाहालले भने, ‘‘जनता पुरै गणतन्त्रको पक्षमा छन् ।’’
शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति काग्रेस र माओवादी विच ऐतिहासिक सम्बन्ध बनेको उल्लेख गर्दै शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गरे। ‘‘राजनीति र अरु कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भएपनि, विवाद भएपनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन् ।’’ उनले भने।
अध्यक्ष दाहालले शान्ति सम्झौताको अझैपनि केही काम टुङग्याउन बाँकी रहेकाले त्यसका निम्ति लिनुपर्ने तत्परता र पहल काग्रेस र माओवादी केन्द्रकै बढी हुने बताए ।
प्रतिक्रिया