गोरखा । कमजोर आर्थिक अवस्था भएका कारण गोरखाका १ जना नाबालकको उपचारमा समस्या देखिएको छ । टाउकोमा ट्यूमर देखिएका ति बालकको सामान्य उपचारमा समेत समस्या परेको हो ।
गोरखाको पालुङटार नगरपालिका–२ आँपपिल स्थित दार्मिचौरका १२ बर्षिय बालक सागर सुनारको टाउकोमा ट्यूमर भएको हालै पत्ता लाग्यो । आँपपिलको जनता माध्यामिक बिद्यालयमा कक्षा ५ मा अध्ययनरत सुनार पढाईमा भने अब्बल छन् ।
धर्माराउदै हिड्ने र एउटा आँखा समेत राम्रो संग देख्न नसक्ने अवस्थामा पुगेका सुनार बिरामी पर्न थालेपछी आफन्तको सहयोगमा हालै पाटन अस्पताल पुगेर उपचार गराउदा टाउकोमा ट्यूमर भएको डाक्टरहरुले बताएको उनका बुवा रामजी सुनारले बताए । ‘छोरी चेलीहरुले केही पैसा दिएका थिए’ उनले भने– ‘त्यही पैसा लिएर पाटन अस्पताल गए । जाँच गराउदा डाक्टरहरुले टाउकोमा ट्यूमर छ भने ।’
डाक्टरहरुले तत्कालै उपचार नथाले बच्चालाई जे पनि हुनसक्ने बताएको पनि बालकका बुवा रामजी सुनारले सुनाए । ‘उपचार त गराउने तर कसरी’ उनले भने ‘म ज्यालादारीमा काम गर्ने मान्छे । न बेच्न बारी छ न खेत नै ।’
पाटन अस्पतालका चिकित्सकहरुले यही बिहीबारदेखी बच्चाको उपचार थाल्नुपर्ने र आउदा ३ लाख ५० हजार लिएर आउनु भनेको पनि उनले सुनाए। तर दैनिक ज्यालादारीबाट आउने पैसाले साँझ बिहान हातमुख जोर्न गारो भएकोले छोराको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । ‘सबैको सहयोग भयो भने मेरो छोरा बाच्थ्यो कि त रु’ उनले भने।
यसै बिच ति बालकले कक्षा ५ को परिक्षामा राम्रो अंक ल्याएर कक्षा ६ मा प्रवेश गरेको स्कुलका प्रधानाध्यापक विण्णुप्रसाद मरहट्टाले जानकारी दिए। उनले पनि आफ्ना बिद्यार्थीको लागि स्कुल खुल्नासाथ ५० हजार आर्थिक सहयोग संकलन गरेर दिने बाचा गरे ।
सुक्को नभएको रामजीलाई छोराको बिहीबारदेखी हुने उपचारले मन पोलेको छ । उपचार नगराई भएको छैन । उपचार गराउन पैसा छैन । यसै बिच पनि उहाँका आफन्तले सामान्य सहयोग गर्ने बचन दिएको उनले बताए।
अस्पतालका डाक्टरहरुले ३ लाख औषधीको लागि र ५० हजार डिपोजिटको लागि भनेको भन्दै जोरजामको लागि साँझ बिहान आफन्तदेखी सहयोगी बिच हात फैलाईरहेका छन् । उनका अनुसार ४ महिना भर्ना गरेर राखेपछी र औषधी चलाएपछी मात्र अप्रेशन हुने डाक्टरहरुको टोलीले बताएको छ।
बच्चाका हजुरबुवा नाता पर्ने होमबहादुर सुनारका अनुसार औषधोपचारमा समस्या भएपछी आफन्तहरुले सामान्य सहयोग त गरेको तर प्रयाप्त नभएकोले सहयोगको अपिल गरेको बताउनुभयो । उनका अनुसार बालकको उपचार सहयोगको लागि हालै राष्ट्रिय बाणिज्य बैंकमा उनको पिताको नाममा खोता खोलेको पनि जानकारी दिए।
सहयोगिहरुले बालकका पिता रामजी सुनारलाई ९८०२८१५६२८ मा सिधै फोन गरेर वा राबा बैंकको खाता नम्बर ३०६०१०५४०३६४४०१० पनि जम्मा गर्न सक्नेछन् ।
बालकको बैशाख १३ गते बिहीबार बिहानदेखी पाटल अस्पतालमा उपचार सुरु हुने छ ।
प्रतिक्रिया