पालिका भित्र आएका बिकास बजेटको दुरुपयोग हुन नदिन स्थानीय नागरिक बढी जिम्मेवार हुनुपर्छः अध्यक्ष बञ्जरा
गोरखा। भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले वडा र पालिका भित्र आएका पालिका, प्रदेश, संघको बिकास बजेटको दुरुपयोग हुन नदिन स्थानीय नागरिक बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । भिमसेन थापा गाउँपालिकाकाे पहिलो अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिदैँ उनले नागरिक जिम्मेवार बने पालिका, प्रदेश, संघको बिकास बजेट दुरुपयोग नहुने बताएका हुन् ।
पछिल्लो समय सरकार दिने ठाउँमा र जनता माग्ने ठाउँमा भएजस्तो भएको भन्दै विकासका निम्ति स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी तथा नागरिक सवै मिलेर हातेमालो गरेर अघि बढ्नु पर्ने अध्यक्ष बञ्जराले बताए ।
भिमसेन थापा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ को पहिलो अर्धबार्षिक अवधीमा गाउँपालिकाले गरेका सेवाप्रवाह र विकास निर्माणका बिषयमा नागरिकहरुको गुनासो तथा सुझावका लागि शनिवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको थियो ।
गाउँपालिकाको वडा नम्बर ८ स्थित बोर्लाङमा रहेको हवेली दरवार परिषरमा भएको सार्वजनिक सुनवाई कार्यक्रम सहभागीहरुले गाउँपालिकाको लाइफ लाइन सडकको रुपमा अगाडी सारेको झिङटे– बोर्लाङ सडकखण्ड कालोपत्रेका लागि जोड दिन आग्रह गरेको छन् ।
‘‘गाउँपालिकाले सडक निर्माणका लागि गरिरहेको काम प्रसंसा योग्य छ, स्थानीय कृष्ण श्रेष्ठले भने, ‘‘पक्की नाला बनेको छ अव तत्काल सडक कालोपत्रेका लागि ध्यान पु¥याउनु आवश्यक छ ।’’ उनले गाउँपालिकाले सञ्चालन गर्ने बिकास निर्माणका काम असार मसान्तमा हतारहतार सक्ने परिपार्टीको अन्त्य गरि समयमै सम्पन्न गर्ने तर्फ ध्यान दिन समेत गाउँपालिकालाई सुझाव दिए ।
कार्यक्रममा भीमसेन थापा गाउँपालिका–८ का राजु थापाले पालिका भित्र स्वस्थ्य खानेपानीको पहुँच नपुगेका महादेवटार, ऐरीभन्ज्याङ लगायतका क्षेत्रमा खानेपानीको सुविधा पु¥याउन माग गरे। उनले ऐतिहासिक महत्व वोकेको भीमसेन थापाको जिर्ण हवेली दरवारमा परिषर पार्कमा निर्माणका लागि प्रतिष्ठानले ८ रोपनी ३ आना जग्गा खरिद गरिसकेको जानकारी दिए ।
थापाले हवेली दरवार जिर्णोद्धार र पार्क निर्माणका लागि पालिकास्तरको बजेटबाट सम्भव नभएकाले संघ प्रदेश मार्फत बजेट विनियोजनका लागि पहल गर्नुपर्नेमा जोडदिए । त्यस्तै अर्का सहभागी डिलबहादुर आलेले गाउँपालिकाले २ बर्षसम्म पनि शिक्षा योजना समेत लागू गर्न नसकेको बताए ।
कार्यक्रममा सहभागीहरुले सहकारीहरुमा भाका नाँधेका ऋणीहरुले ऋण नतिर्दा सहकारी जोखिममा पर्ने अवस्था आएको भन्दै स्थानीय सरकारले ऋण नतिर्ने ऋणहरुलाई सरकारले प्रदान गर्ने सेवा सुविधाबाट बन्चित गर्ने व्यवस्था गर्न आग्रह समेत गरेका छन् । त्यस्तै गाउँपालिकाले महिलाहरुको क्षमता अभिबृद्धिका लागि जोड दिन समेत सहभागीले माग गरेका छन ।
कार्यक्रममा सहभागीहरुबाट उठेका प्रश्नको जवाफ दिदै गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट) ले संघ र प्रदेशबाट भएका योजनाहरुमा अनुगमन पनि गर्न पाउनुपर्छ भन्ने माग सम्बन्धित सरकारहरुसंग गरिरहेको बताइन्। समय अभावका कारण पालिका भित्रका सवै क्षेत्रमा बजार अनुगमन गर्न नसकिएको स्विकार गर्दै सम्वन्धित वडाका जनप्रतिनिधी तथा उपभोक्ता समिति पनि चनाखो हुनुपर्ने उनको भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुुर अधिकारीले विकास निर्माणको काम समयमा नै सम्पन्न गर्नुपर्ने पक्षमा गाउँपालिका वडामा बनेका उपभोक्ता समितिहरुलाई घचघच्याउने काम सवैको भएको बताए। उहाँले पालिका भित्रका व्यवसायीहरुको सहजताका लागि व्यवसाय दर्ताका कार्यविधि नै संसोधन गरेर वडाबाटै व्यवसाय नवीकरण र दर्ताको व्यवस्था मिलाएको जानकारी गराए ।
कार्यक्रममा वडाध्यक्ष नारायण श्रेष्ठ, गाउँपालिका इन्जिनियर कपिल पनेरु, स्वास्थ्य शाखाका प्रमुख भेषराज खनाल लगायतको पनि सहभागीहरुले उठाएको बिषयमा जवाफ दिएका थिए ।
प्रतिक्रिया