गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिका भित्रका गर्भवती महिला तथा दीर्घरोगीहरुका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । चालु आर्थिक बर्ष २०८०÷०८१ मा बिनियोजित बजेट मार्फत पालिका भित्रका सवै गर्भवती महिला तथा दीर्घरोगीहरुका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) ले जानकारी दिए।
‘‘पालिकाले दीर्घरोगी र गर्भवतीहरुका लागि बार्षिक एक लाख रुपैयासम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ, उनले भने, ‘‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अवदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।’’ गाउँपालिकाले वडा नम्बर ६ बाट विश्व क्यान्सर दिवसको अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको पालिका प्रमुख तिमल्सिनाले बताए ।
आग्रीडाँडा सामुदायिक स्वास्थ्य इकाईमा क्यान्सर पिडित परिवार तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य विमा फारम उपलब्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुवात गरिएको उनको भनाई छ । कार्यक्रम सुरु भएसंगै पालिका भित्रका सवै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीहरुलाई निशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए।
‘‘कार्यक्रमबाट गर्भवती महिलाहरुको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्य उपचारमा खर्च न्युनीकरण हुनेछ, उनले भने, ‘‘नियमित रुपमा औषधी सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीहरुका लागि समेत कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।’’
गण्डकी गाउँपालिका भित्र अहिलेसम्म सूचीकृत भएका ८४ जना दीर्घरोगीहरु रहेका छन् । दीर्घरोगी तथा गर्भवती महिलाहरुका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक बर्षका लागि १० लाख रुपैया बजेट बिनियोजन गरेको थियो । कार्यक्रम अव निरन्तर चल्नेछ ।
बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यहरुको समेत निशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया