गोरखा । उत्तरी गोरखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा बुधवारदेखि हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोकलगायतका क्षेत्रमा हिमपात परेको उनले बताए । ‘हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ’, उनले भने, ‘ल्हो, प्रोक तथा साम्दोमा पनि हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ ।’
उपल्लो क्षेत्रमा बिहीबार बिहानसम्म करिब डेढ फिट हिउँ परेको छ । अझै निरन्तर हिउँ परिरहेको छ । टेलिफोनको नेटवर्क घरी जाने, घरी आउने गरिरहेको छ । हिमपात याे वर्षको अहिलेसम्मको ठुलो हो । हिमपातका कारण गाईबस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको छ ।
राम्ररी हिउँ परेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडीबुटी फस्टाउने भएकाले स्थानीयबासी खुसी छन् । यति बेला जाडो छल्न तथा फुर्सदको समयमा भ्रमण गर्न शहरतिर झरेका स्थानीय बासिन्दाहरू गाउँ फर्कन थालेका छन् ।
हिमपात भएपछि सुक्खा भएको जमिनलाई पानी मिल्ने र उब्जनी राम्रो भएकाले किसान खुसी भएका हुन् । लामो समयसम्म पानी नपर्दा जमिन सुक्खा हुने भएका कारण हिउँ पर्दा खेतीबालीलाई राम्रो हुने विश्वास गरिन्छ ।
उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरूमा पनि हिमपात भइरहेको छ ।
प्रतिक्रिया