गोरखा । रातो बंगला स्कुलले भिमसेन थापा गाउँपालिकाका कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । भिमसेन थापा गाउँपालिका र रातो बंगला स्कुल साझेदारी कार्यक्रम अन्तरगत २६ वटा बिद्यालयहरुलाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
रातो बङ्गला स्कुलले काठका ब्लकहरु, विज्ञान, गणित लगायत बिषयका खेलसंग सम्बन्धित शैक्षिक सामाग्रीहरु प्रदान गरेको रातो बंगलाका स्कुलका सिनियर फिल्ड अफिसर भरत घिमिरेले बताए ।
रातो बंगला स्कुलकै मोडलमा पठनपाठन गराउनका लागि कक्षाकोठा व्यवस्थापनका लागि बिधालयलाई शैक्षिक सामाग्री र शिक्षकलाई तालिम प्रदान गरिएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराल रातो बंगला स्कुलबाट प्राप्त शैक्षिक सामाग्रीको सहि सदुपयोग गरि तालिम प्राप्त शिक्षक शिक्षिकाहरुलाई ठिक ढंगले परिचालन गरि बिद्यालयको शैक्षिक स्तर सुधार गर्नु पर्ने बताएका छन् ।
रातो बंगला संगको साझेदारीमा सञ्चालित यस कार्यक्रममा प्राथामिक तहका शिक्षकहरुलाई प्रदान गरिएको तालिम सम्पन्न भएसंगै अब पालिका भित्रका प्राथामिक विद्यालयहरुमा पनि सहि ढंगले शिक्षण सिकाई कार्यन्वयन गर्ने अवस्थामा पुगेका उनले बताए ।
सामुदायिक विद्यालयहरुमा शिक्षण सिकाई प्रभावकारी नभएको र नतिजा सन्तोषजनक नभएको भन्ने गुनासो बढी रहेका बेला पालिका भित्रका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि रातो बङ्गलासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको र कार्यक्रम निकै प्रभावकारी बन्दै गएको गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्तीले बताईन् ।
गाउँपालिका सामाजिक विकास शाखाका संयोजक तथा वडा नम्बर ७ का वडाध्यक्ष नारायण श्रेष्ठले पालिकाले थपा शैक्षिक उपलब्धि हासिल गर्नका लागि रातो बंगला स्कुलसंग गरिएको साझेदारी प्रभावकारी र नजितामुखी बनेको भन्दै खुशी व्यक्त गरे ।
त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले रातो बंगला स्कुलसंग गरिएको साझेदारी कार्यक्रमले पालिका भित्रका विद्यालयहरुको समग्रमा शैक्षिक सुधारमा पनि बृद्धि भएको र बालबालिकाहरुमा समेत सिकाईको इच्छाशक्ति बृद्धि हुदै गएकाले यसलाई प्राथामिक तहसम्म कार्यान्वयन गरेर लैजान लागिएको बताए ।
सार्थक शिक्षण सिकाइ तालिमसंगै फाउण्डेसनले उपलब्ध गराएको सिकाई सामग्रीहरुको प्रयोगबाट गरिएको शिक्षण सिकाई प्रभावकारी भएको गाउँपालिकाका शिक्षा अधिकृत यानबहादुर नेपालीले बताए । यस्ता खालका सिकाइबाट बालबालिकाहरुले आफैले गरेर सिक्ने अवसर प्राप्त गरेको भन्दै उहाँले यो अत्यन्त लाभदायी भएकोले यसलाई प्राथामिक कक्षासम्म लागू गर्ने गरी कार्यक्रम अघि बढाइएको शिक्षा अधिकृत नेपालीको भनाई छ ।
रातो बंगला स्कुलबाट कक्षा कोठा व्यवस्थापनका लागि शैक्षिक सामाग्री प्राप्त गरे संगै प्रधानाध्यापकहरु खुशि व्यक्त गरेका छन् । रातो बंगला स्कुलकै मोडलमा पठनपाठन गराउन कक्षाकोठा व्यवस्थापनका लागि बिधालयलाई शैक्षिक सामाग्री र शिक्षकलाई तालिम प्रदान भए संगै शैक्षिक स्तरमा सुधार आउने उनिहरुको विश्वास छ ।
विद्यालयमा पठनपाठन सञ्चालन गर्दा सैद्धान्तिक मात्र नभएर व्यवहारिक ढंगले पठनपाठन गराउन सिकाउने उद्देस्य सहित रातो बङ्गलाले गाउँपालिकासंग सहकार्य गरेर कार्यक्रम अघि बढाएको रातो बंगला स्कुल साझेदारी कार्यक्रमका सिनियर फिल्ड अफिसर भरत घिमिरेले बताए । बालबालिकाहरुलाई विद्यालयमा खाली किताव मात्र पढाउने नभई स्थायी रुपमा व्यवहारिक र दिगो सिकाईका लागि पढाउने बिधि सार्थक बाल सिकाई भएको उनी बताउछन् ।
रातो बङ्गला साझेदारी कार्यक्रमले यसअघि भीमसेन थापा गाउँपालिका भित्रका ३६ ओटा विद्यालयमा सम्पूर्ण बाल कक्षामा पनि कार्यक्रम सञ्चालन गरिरहेको छ । जस अन्तर्गत बाल कक्षाका ५५ जना बाल शिक्षकहरूले ३ चरण गरेर १५ दिनका साथै हरेक कक्षामा काठका ब्लक्स लगायतका सामग्रीहरू, टीभी, किताबहरू, किताब राख्ने र्याक, खेलका सामग्रीहरू,स्टेसनरीका सामानहरू पनि प्रदान गरेको थियो । पूर्व प्राथामिक कक्षामा आएको सुधारले कक्षा १ देखि ५ सम्मपनि सार्थक बाल सिकाई कार्यक्रम लागू गर्न लागेको रातो बंगला स्कुल फिल्ड अधिकृत उज्वल खनालको भनाई छ ।
भीमसेनथापा गाउँपालिकासंगको सहकार्यमा रातो बंगला साझेदारी कार्यक्रमले बिगते तीन बर्षदेखि सार्थक बाल सिकाइ कार्यक्रम–भिमसेन थापा सञ्चालन गरिरहेको छ । भीमसेन थापा गाउँपालिकामा प्रारम्भमा बालकक्षामा मात्र लागू गरिएको यो कार्यक्रमबाट शिक्षण सिकाइ प्रभावकारी बन्दै गएपछि गाउँपालिकाले निर्णय नै गरेर प्राथामिक तहसम्म कार्यक्रम अघि बढाएको हो ।
प्रतिक्रिया