
गोरखा । खोलामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षका सञ्जय तामाङ र २८ बर्षका रजित तामाङलाई मंगलबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।
करेन्ट लगाएर माछा मारिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला स्थित अस्थायी प्रहरी पोष्ट छेवेटारबाट गएको प्रहरीको टोलीलाई उनिहरुलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका दुवै जनालाई सम्झाई बुझाई गर्न खोज्दा उल्टै उनिहरुले डिउटीमा खटिएका प्रहरीहरुलाई दुव्र्यवहार गर्ने र धाक–धम्की दिएर अभद्र व्यवहार गरेपछि तत्कालै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट करेन्ट प्रवाह गरि माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग भएको जाल समेत बरामद गरिएको उनको भनाई छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थपगरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उनिहरु बिरुद्ध सार्वजनिक विरुद्धको कसूर शीर्षकमा मुद्दा गरेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए। जिल्ला भित्र नदी र खोलामा करेन्ट प्रवाहगरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अबैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।
प्रतिक्रिया